काठमाडौं – हिजो भएको उपचुनावमा पालिकाका रिक्त ४१ पदमध्ये अहिलेसम्म ३६ वटा पदको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजामा दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३२ वडाध्यक्षका पदका परिणाम समावेश छन्।
गाउँपालिकाका दुई अध्यक्ष पदमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन्। यसअघि २०७९ को चुनावमा दुवै गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको थियो।
यस्तै, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएको छ, भने यसअघि यहाँ कांग्रेसले जितेको थियो। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्।
सार्वजनिक भएका ३२ वडाध्यक्ष पदका नतिजामा कांग्रेसले १६, एमालेले ५, माओवादी केन्द्रले ५, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ पद जितेका छन्।
कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको मतगणना सुरु हुँदैछ। उपाध्यक्ष पदको चुनाव भएको अर्को ठाउँ, दोलखाको गौरीशंकर गाउँपालिकामा दिउँसो मात्रै मतगणना गर्ने तयारी छ।

