राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलनको आरोपमा चलिरहेको मुद्दा अबको १० दिनभित्र अदालतमा पेस गर्नुपर्ने भएको छ। कास्की, रूपन्देही, काठमाडौं, चितवन र पर्साका सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धान भइरहेको छ।
पाँचवटा जिल्लाका सरकारी वकिल कार्यालयमा बयान लिइसकेको छ। लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई र नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन्।
लामिछानेलाई ५५ दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगेको थियो। उनलाई कात्तिक २ गते पक्राउ गरिएको हो। यो प्रकरणमा प्रहरीले सहकारी रकम बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धान गरिरहेको छ।
पोखराको सूर्यदर्शन बचत सहकारीको दोस्रो चरणको अनुसन्धानका लागि सुरूमा प्रहरीले छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेको थियो।
सहकारी ठगीसम्बन्धी ऐनअनुसार अभियुक्तलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ। संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा ९० दिन हिरासतमा राख्न सकिन्छ। सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान गरिरहेको हुँदा प्रहरीले ९० दिनभित्र अनुसन्धान पूरा गरी अदालतमा अभियोजन दर्ता गर्नुपर्ने हुन्छ।
सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अबको १० दिनभित्र मुद्दा पेस गरिने बताएकी छिन्। ‘प्रहरीले समयसीमाभित्र प्रतिवेदन बुझाएपछि कानुनी हदम्यादभित्रै अदालतमा मुद्दा पेस हुन्छ,’ उनले भनिन्।
रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध अदालतबाट आइतबार लिएको म्याद बुधबार सकिएको छ। बिहीबार पुन: अदालतमा उपस्थित गराइने काफ्लेले बताइन्।
पोखराको सूर्यदर्शन सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा दोस्रो चरणको अनुसन्धान थालिएको हो। पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र पर्साको सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोप छ।

