Tuesday, May 26, 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधमा मुद्दा दर्ता, सजाय थपिन सक्ने

ताजा / भरखरै प्राप्त

जिल्ला अदालत काठमाडौंमा बुधबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ। साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गर्दै मुद्दा दायर गरेको हो।

सरकारी वकिलले प्रसाईंले सोही अपराध दोहोर्‍याएको भन्दै डेढी सजाय (अधिकतम सजायमा आधा थप) को माग समेत गरेको छ। यस्तो अवस्थामा उनलाई सात वर्षसम्म कैद सजाय हुन सक्छ।

यसअघि प्रसाईंलाई असोज ६ गते साइबर अपराधकै मुद्दामा पक्राउ गरी नौ दिन हिरासतमा राखिएको थियो। त्यतिबेला अदालतले ५०-५० हजार धरौटीमा रिहा गरेको थियो। तर, मंसिर ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पुनः पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा झापाका हरिचन्द्र फुयाललाई भारतबाट धम्कीका लागि परिचालन गरेको प्रमाण फेला परेको छ। फुयालले प्रयोग गरेको दुईवटा फोन र प्रसाईंसँगको अडिओ रेकर्ड मुख्य प्रमाणका रूपमा रहेको सिआइबीले जनाएको छ।

प्रसाईंमाथि संगठित अपराधमा संलग्नता रहेको पनि आशंका गरिएको छ। फुयालको बयान अनुसार, प्रसाईंले धम्की कार्यका लागि तीन लाख रुपैयाँ दिने बाचा गरेका थिए। थप अनुसन्धानका लागि सिआइबीले फुयाल र प्रसाईंलाई सँगै राखेर बयान लिइरहेको छ।

यसैबीच, प्रसाईंमाथि भारतीय अपराधी लरेन्स विश्नोईसँग कुनै सम्बन्ध रहेको ठोस प्रमाण नभेटिएको सिआइबीले बताएको छ। तथापि, प्रसाईंले विश्नोईको नाम लिँदै नेपाली व्यापारीहरूलाई धम्क्याएको अडिओ प्रमाणको रूपमा पेश हुने बताइएको छ।

मुद्दाको विस्तृत अनुसन्धान जारी छ।

spot_img

लोकप्रिय

Related Articles