काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले अब रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने आत्मनिर्भर शिक्षालाई प्राथमिकतामा राखेर सरकार अघि बढ्ने बताउनुभएको छ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्र मात्रै पर्याप्त नभई व्यक्तिको चरित्र र नैतिकताले नागरिकको पहिचान निर्धारण गर्ने बताउनुभयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब रोजगारी दिने शिक्षा मात्र होइन, रोजगारी सिर्जना गर्ने आत्मनिर्भर शिक्षातर्फ अघि बढिरहेका छौँ। यसका लागि काठमाडौँ विश्वविद्यालयजस्ता शिक्षण संस्थाहरूलाई नमूनाका रूपमा विकास गरिरहेका छौँ।” उहाँले पढाइलाई रोजगारीसँग जोडेर विद्यार्थीलाई आत्मनिर्भर बनाउन विश्वविद्यालयहरूसँग सहकार्य र समन्वयलाई अझ सशक्त बनाउने उल्लेख गर्नुभयो।
प्रधानमन्त्री ओलीले प्रमाणपत्र रोजगारीका लागि एउटा आधार मात्रै भए पनि दक्ष नागरिक बन्न आचरण, व्यवहार, बोलीचाली र म्यानरले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र सकारात्मक सोच भएका नागरिक बन्न प्रेरित गर्नुपर्ने धारणा राख्नुभयो।
“विद्यार्थीको आचरण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ। दक्षताका लागि उत्तरदायित्वको भावना र शिष्टाचार आवश्यक छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो। साथै, उहाँले विद्यार्थीहरूलाई सीप र उत्तरदायित्वको माध्यमबाट देश र नागरिकको पहिचान उचाइमा पु¥याउन आह्वान गर्नुभयो।

