काठमाडौँ – सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ। एचपिभी खोपले पाठेघरको क्यान्सरबाट बच्न सहयोग पुर्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपिभी भाइरस हो।
हालसम्म सरकारद्वारा जापनिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी र क्षयरोग गरी ११ रोगविरुद्धका खोप निःशुल्क उपलब्ध गराउँदै आइएको थियो। अब यसमा पाठेघरको क्यान्सरविरुद्धको खोप एचपिभी पनि थपिएको हो। ११ रोगविरुद्धका खोप शिशुको जन्मदेखि १५ महिनाभित्र दिइन्छ भने एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई लगाइनेछ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्षदेखि एचपिभी खोप अभियान सञ्चालन गरिने छ। नेपालबाट पाठेघरको क्यान्सर निर्मूल गर्ने लक्ष्यसहित सरकारद्वारा यो निर्णय लिइएको हो।
आउँदो माघ २२ गतेदेखि सुरु हुने खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षका किशोरीलाई खोप लगाइने छ। तथ्याङ्कअनुसार नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरका कारण चारजना महिलाले ज्यान गुमाउने गरेका छन्।
सरकारको यो अभियानले पाठेघरको क्यान्सर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

