Tuesday, May 26, 2026

कलैया उपमहानगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम-उपस्थिती ३० जना, बजेट खर्च २ लाख

ताजा / भरखरै प्राप्त

बाराको कलैया उपमहानगरपालिकाले फाल्गुन २५ गते १४ नम्बर वडा बघवनमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गर्याे । नगरस्तरीय योजना अन्तर्गत २ लाख रुपैया बजेट रहेको यो सार्वजनिक सुनवाई कार्यक्रम बन्द कोठा भित्र ३० जनाको उपस्थितीमा सम्पन्न भएको थियो । जसमा उप प्रमुख रौशन प्रविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, वडा अध्यक्ष, वडा सदस्य लगायत अन्य कर्मचारी, शिक्षक, २ जना पत्रकार, केही एनजिओकर्मि र २-४ जना वडाध्यक्षका नजिकका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रमको ब्यानरमा ठुला ठुला अक्षरले सुशासन, पारदर्शीता, जवाफ देहिता कलैया उपमहानगरको प्रतिबद्धता भन्ने नारा लेखिएको थियो । तर कार्यक्रमको संचालन र सहभागिलाई हेरेर त्यो ब्यानरको अक्षरहरु पनि लजाईरहेको आभाष भइरहेको थियो । सामान्यतया सार्वजनिक सुनवाई भनेको खुल्ला ठाउँमा १५ दिन अगाडि देखि प्रचारप्रसार गरेर आयोजना गर्नुपर्ने हो । तर कलैया उपमहानगरको यो कार्यक्रम आयोजनाको अवस्था देखेर बजेट सकाउन हतार भएको सहजै अनुमान गर्न सकिने बघवनका स्थानीयहरु बताउँछन् । सार्वजनिक सुनवाई कार्यक्रमबारे कहिं कसैलाई जानकारी नगराईएको यहाँको स्थानीयहरुको गुनासो रहेको छ ।


स्थानीय निकाय सार्वजनिक सुनवाई कार्यविधि २०६७ ले स्थानीय निकाय र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट जनतालाई विकासको प्रक्रियामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शिताको माध्यमद्वारा स्थानीय निकायको विकास निर्माण कार्य र सेवाप्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाई जिम्मेवारीको संस्कार बसाउन स्थानीय निकायले सार्वजनिक सुनुवाइ गर्न भनेको छ । तर कलैया उपमहानगरपालिकाले कार्यविधि विपरीत बजेट सकाउने उद्देश्यले बन्द कोठा भित्र उक्त कार्यक्रमको आयोजना गरेको स्थानीयहरुको आरोप रहेको छ ।


२५ गते बघवनमा आयोजना गरीएको सार्वजनिक सुनवाई कार्यक्रममा आफ्नो चित्त नबुझेको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले बताउनु भएको छ । उनले पिएसआर खबर संग कुरा गर्दै भने “म त्यहाँका वडा अध्यक्षलाई यो कार्यक्रम खुल्ला ठाउँमा गर्न भनेको थिए तर उहाँले खै किन वडा कार्यालयको सभाहलमा गरे मलाई पनि मन परेको छैन् ।”


उनले समाचारमा यसरी सफाई दिइ रहँदा भने २५ गतेको कार्यक्रममा आफ्नो मन्तव्यमा यो कुरा किन भनेन यसले पनि धेरै कुरा प्रष्ट पारेको छ । सुशासनको नाममा गरीने नितिगत भ्रष्टाचारको यो नमुना मात्र हो । उपमहानगरपालिकाको यस्ता धेरै योजनाहरु छन् जुन फोटो र समाचारमा मात्र सिमित हुने गरेको छ ।

spot_img

लोकप्रिय

Related Articles