रौतटको मौलापुर नगरपालिकाबाट प्रहरीले १० लाख अवैध हुण्डीको रकम सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट खटिएको प्रहरीको चेकीगं टोलीले मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराम स्थित सडकमा चेकजाँचको क्रममा भारत बिहार राज्यको मोतिहारी जिल्ला कुडवा थाना चैनपुर ग्राम पंचायत खरहा चैनपुर वडा नम्बर ८ मुसहरीयाका २३ वर्षिया राजकिशोर ठाकुरलाई नियन्त्रणमा लिएको हो ।
भारत बाट नेपाल तर्फ चलाउँदै आएको बि आर ०५ ए सी ९४७७ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा झोला भित्र लुकाएर राखेको अवैध हुण्डीको १० लाख रुपैया बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दिपक कुमार रायले बताउनु भएको छ ।
प्रहरीले नियन्त्रमा लिएको ठाकुरको साथबाट नेपाली रुपैया १ हजार दरको ६ सय थान र ५ सय दरको ८ सय थान गरी १० लाख फेला परेको प्रहरीले जनाएको छ ।
यसअघि पिएसआर खबरले लगातार रुपमा बैरगनियाका दिलिप जयसवाल समूहले विभिन्न नाका प्रयोग गरी रौतहटमा हुण्डीको कारोबार गर्दै आएको समाचार प्रकाशन गर्दै आएपनि रौतहट प्रहरीले चासो दिएका थिएनन् ।
तर भारतीय गुप्तचर निकायले समूहका सदस्य दिलिप जयसवाल र कौशल जयसवाल माथि निगरानी बढाएसंगै उनीहरुले कारोबारको रुट परिवर्तन गरेका छन् ।
स्रोतका अनुसार सदरमुकाम गौरसंग जोडिएको विभिन्न नाकामा दिलिप जयसवाल र कौशल जयसवाल लगायत हुण्डी कारोबारीहरु माथी भारतिय सुरक्षा निकायले सतर्कता बढाएपछि यो समुहले रौतहटको बंकुल, मौलापुर एरियाको नाकाहरु र सर्लाहीको विभिन्न नाकाबाट हुण्डीको कारोबार गर्दै आएको छ ।
रौतहट प्रहरीले आज सोमबार नियन्त्रणमा लिएको १० लाख रपैया दिलिप समूहकै रहेको आशंका उत्पन्न भएको छ ।

