ब्राह्मण समाज नेपाल बाराको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम–२०८२ शनिबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
समाजका कार्यवाहक अध्यक्ष मुक्तिनाथ तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष देवनाथ उपाध्याय तथा विशेष अतिथिका रूपमा केन्द्रीय सचिव प्रेमलाल पाण्डेय सहभागी थिए ।
त्यस्तै उक्त कार्यक्रममा ब्राह्मण समाजको मान सम्मान बढाउन अति महत्वपूर्ण सराहनीय कार्य गरेको हुनाले ज्योतिषाचार्य पंडित ज्ञानेन्द्र पाण्डेय लाई विशिष्ट आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा ब्रजेश कुमार पाण्डेय, कार्तिकदेव पाण्डेय, मनिन्द्र नाथ शर्मा, मनमोहन पाण्डेय, जगरनाथ पाण्डेय, प्रियान्शु पाठक, मुनचुन तिवारी, राहुल मिश्र लगायत समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि देवनाथ उपाध्यायले शुभकामना मन्तव्य राख्दै भने, “समाज भित्रको एकता, सद्भाव र संस्कार संरक्षणका लागि यस्ता कार्यक्रम प्रभावकारी माध्यम हुन् । हामीले आफ्नो सामाजिक उत्तरदायित्वलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”
विशेष अतिथि प्रेमलाल पाण्डेयले भने, “ब्राह्मण समुदायले देशको विचार, संस्कार र नीतिगत पक्षमा सधैँ नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । नयाँ पुस्तालाई मार्गदर्शन गर्न यस्ता जमघट जरुरी छ ।”
कार्यवाहक अध्यक्ष मुक्तिनाथ तिवारीले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै भने, “हामी समाजको एकता, पहिचान र प्रगतिको मार्गमा सबैलाई जोड्न चाहन्छौं । यो कार्यक्रम त्यो यात्राको एउटा खुड्किलो हो ।”
अन्य सहभागीहरूले पनि शुभकामना व्यक्त गर्दै समाजमा शिक्षा, संस्कार, स्वास्थ्य र नेतृत्व विकासका क्षेत्रमा सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रम ए प्लस होस्पिटल एण्ड ट्रमा सेन्टरको सहयोगमा सम्पन्न भएको थियो। संयोजन पक्षका अनुसार आगामी दिनमा अझ फराकिलो दायरा बनाएर यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा आयोजना गरिनेछ ।

