बाराको सिम्रौनगढ नाकाबाट सशस्त्र प्रहरीको टोलीले हुण्डीको ३ लाख ७२ हजार रुपैया सहित २ जना भारतीयलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीलाई पाएको गोप्य सूचनाको आधारमा शुक्रबार दिउँसो वि.ओ.पि. गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा खटेको टोलीले सिम्रौनगढ नगरपालिका ६ अमरपुर सीमानाका बाट रकम सहित नियन्त्रणमा लिएको हो ।
बिआर २२ आर २८०९ नम्बरको भारतीय ग्यालेमर मोटरसाईकललाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार भारतीय नागरिक जिल्ला मोतीहारी पुर्वी चम्पारण उत्तरी घोडासन ग्राम पन्चायत १३ लैन गाँउ बस्ने अन्दाजी १९ को गोलु कुमार जैसवाल र २१ वर्षिया राजन कुमार जैसवाललाई हुण्डीको रकम सहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको दुवै जनाको साथवाट हुण्डीको नेपाली रुपैया ३ लाख ७२ हजार र १ लाख ४९ हजारको मोटरसाईकल गरी जम्मा ५ लाख २१ हजार बराबरको मोटरसाईकल, रुपैया र नियन्त्रणमा लिएको २ जना व्यक्ति सहित बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गणपति खुमबहादुर केसीले बताउनु भएको छ ।
हुण्डीको रकम सहित नियन्त्रणमा लिएको दुबैजना भारतीय नागरिक हुण्डी कारोबारी दिलिप जयसवाल समूहको हुन सक्ने अनुमान गरिएको छ ।

