जेठ २०, बारा । जलस्रोत तथा सिंचाई विकास डिभिजन बाराका सूचना अधिकारी पंकज महतोले कार्यालयले आफुलाई बिना मतलब सूचना अधिकारी बनाएको भन्दै सूचना दिन पन्छिन खोजेको पाईएको छ ।
उर्जा सिंचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत पर्ने जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कलैया बारामा सब ईन्जिनियर अधिकृत छैठौ पदमा कार्यरत रहेका पंकज महतोले कार्यालयले बिना मतलब आफुलाई सूचना अधिकारी बनाएको आरोप लगाएका छन् । सब ईन्जिनियर महतोले सूचना अधिकारीको लागि सातौ तहको अधिकृतको आवश्यक्ता रहेको बताउँदै उनले आफुलाई कार्यालयका तत्कालिन कार्यालय प्रमुखले फसाएको आरोप लगाएका छन् ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बाराबाट जिल्लामा भईरहेको कामको विवरणको सूचना माग गर्न कार्यालय पुग्दा सूचना अधिकारी महतोले सूचना दिन विभिन्न किसीमको बहाना बनाउँदै आलटाल गरेका थिए । कामको विवरण माग गर्दा खेरी सूचना अधिकारी महतोले पहिला सूचनाको लागि निवेदन लेखेर ल्याउनु पर्ने तथा कार्यालय प्रमुखको आदेशमा मात्र उपलब्ध गराउने अडान राखेका थिए ।
किन लुकाउन खोजे सूचना ?
सूचना लुकाउनुको पछाडिको कारण बारे खोतल्दै जाँदा बारामा संचालन भईरहेका र संचालन हुने क्रममा रहेका हरेक योजनामा सूचना अधिकारी महतोको सेटिंग रहेको कार्यालय स्रोतको दाबि रहेको छ । कार्यालय स्रोतका अनुसार कार्यालय बाट संचालन हुने सम्पुर्ण योजनाहरुमा कमिशन मिलाउने काम सूचना अधिकारी महतोको रहेको छ । पत्रकारहरुलाई सूचना दिँदा सेटिंगको जालो भत्कीने र आम्दानी घट्ने डरले सूचना लुकाएको हुन सक्ने स्रोतको भनाई रहेको छ ।
तर सूचना अधिकारी पंकज महतोले भने आफु कुनै किसीमको सेटिंगमा नलागेको बताएका छन् । उनले पिएसआर खबर संग कुरा गर्दै आफुहरु मन्त्रालय बाट आएको चिठ्ठि सम्बन्धित वडामा पठाउने गरेको र त्यहाँ बाट उपभोक्ता समिति बनेर आएपछि काम अगाडि बढाउने गरेको बताए ।

