जेठ २९, बारा । बारामा प्रदेश सरकार बाट संचालित योजनाहरु सार्वजनिक खरिद नियमावली २०६४ विपरित संचालन भइरहेको पाईएको छ । सार्वजनिक खरिद नियमावली विपरीत भइरहेको निर्माणको कामले अनियमितता भइरहेको आशंका उत्पन्न भएको छ
सार्वजनिक खरीद नियमावली, २०६४ नियम १३७ को उपनियम २ को क अनुसार सरकारी निकायबाट निर्माण हुने हरेक योजनाहरुको पूर्ण जानकारी सहितको होर्डिगं बोर्ड प्रष्ट संग देखिने गरि योजनास्थालमा राख्नुपर्ने हो तर मधेस प्रदेश सरकारको बजेटमा सञ्चालित योजनाहरूमा सार्वजनिक खरिद नियमावलीको धज्जी उडाएको देखिएको छ । बारा जिल्लामा निर्माण कार्यहरूमा सार्वजनिक जानकारी बोर्ड नराखी काम भइरहेको पाइएको छ।
स्थानीय बासिन्दाहरूले जानकारी बिना नै निर्माण कार्य सुरु गरिएको भन्दै पारदर्शीतामाथि गम्भीर प्रश्न उठाएका छन् । बारा जिल्लाको १६ वटै स्थानीय तहमा भइरहेको योजनाहरूको स्थलगत निरीक्षण गर्दा कतै पनि योजनाको नाम,लागत,ठेकेदार,म्याद आदि विवरण उल्लेखित बोर्ड देखिएको छैन् । सार्वजनिक सूचनाको बोर्ड नराखिएको अवस्था भ्रष्टाचार वा बजेट दुरुपयोग हुने स्थानीय सुरेश यादवको आरोप छ।
यता भौतिक पूर्वाधार विकास कार्यालय बाराका निमित्त कार्यालय प्रमुख रिम्पुकुमारी यादवसंग बुझ्दा सार्वजनिक सूचनाको बोर्ड राख्न लगाउछौ,लगाएन भने बोर्डको रकम २ वा २ हजार ५ सय रुपैयाँ काट्ने उनले बताइन् ।
निर्माण कार्यमा लापरबाही भैरहेको पाइएमा कार्वाही समेत गर्ने उनले भनिन् । साइट इन्जिनियरहरु आ– आफ्नो समय मिलाएर साइटमा खटिरहेको उनले बताइन् । इस्टिमेट अनुसार निर्माण कार्य भईरहेको छ यदि त्यस्तो छैन भने साइट इन्जिनियरलाई भनेर सुधार लगाउन उनले समेत भनिन् ।
त्यसैगरी साइट इन्जिनियर रामसेवक यादवसंग ९८१९७६७८९१ मा सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको छ।
भौतिक पूर्वाधारको अनुगमन नहुदा यस्तो समस्या बढेको हो । उपभोक्ता समिति गठन गरि ठेकेदार मार्फत काम भइरहेको छ। यस्तो कामबारे उपभोक्ता समितिलाई थाहा हुदैन,सबै काम ठेकेदारले नै गर्ने गरेका उपभोक्ता समितिका सदस्यहरु बताउछन्।

