असार ०२, बारा । जिल्ला प्रशासन कार्यालय बारामा जिल्ला विपद व्यवस्थापन समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
विपद जोखिम न्यूनीकरण तथा आपत्कालीन पूर्वतयारीका विषयमा केन्द्रित रहेर गरिएको उक्त बैठकमा जिल्लाका सबै १६ वटा स्थानीय तहका प्रमुख प्रतिनिधि तथा जिल्ला स्तरका सरकारी कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
बैठकमा बारा जिल्लामा मनसुनजन्य विपदको सम्भावित जोखिम, राहत तथा उद्धार पूर्वतयारी, स्रोतसाधनको परिचालन, समन्वयात्मक संयन्त्र र दीर्घकालीन योजनाको विषयमा गहन छलफल भएको थियो । सहभागीहरूले स्थानीय तहबाट लिइएका पूर्वतयारी उपायहरू प्रस्तुत गरे भने जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय र मार्गदर्शन गर्ने प्रतिबद्धता जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले सम्भावित प्राकृतिक तथा मानवजन्य विपदका घटनाहरूमा प्रभावकारी रुपमा काम गर्न सबै निकायबीच समन्वय र सक्रिय सहभागिता आवश्यक रहेको निष्कर्ष निकालेको छ।

