धिरेन्द्र ठाकुर/असार १०, बारा । आदर्श कोतवाल गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि कुल ४५ करोड ५ लाख ३४ हजार ५४ बराबरको अनुमानित आय–व्यय विवरण आज मंगलबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट विवरण अनुसार गाउँपालिकाले समावेशी, विकासमुखी तथा सेवा प्रवाहमा केन्द्रित योजनासहित चालु र पुँजीगत खर्च सन्तुलनमा जोड दिएको जनाएको छ ।
संघीय सरकारबाट प्राप्त १७ करोड ६० लाख रुपैयाँको समानीकरण अनुदान सबैभन्दा ठूलो आयश्रोतका रूपमा देखिएको छ । यस्तै ५ करोड ६५ लाख ८२ हजार ५४ रुपैयाँ राजस्व बाँडफाँड तथा १ करोड ९५ लाख ससर्त अनुदान आउने गाउँपालिकाले बताएको छ
त्यस्तै मधेस प्रदेश सरकारबाट ६ करोड ६६ लाख ५० हजार रुपैयाँको समानीकरण अनुदान प्राप्त हुने देखिएको छ । यस अतिरिक्त २ करोड ५० लाख विशेष अनुदान र त्यति नै रकम बराबरको समपुरक अनुदान समेत प्राप्त हुने अनुमान गरिएको छ ।
आन्तरिक स्रोततर्फ स्वायत्त साधन कर तथा राजस्व बाँडफाँडबाट ५ करोड ५९ लाख ६६ हजार ५० रुपैयाँ र आन्तरिक राजस्वबाट ४० लाख रुपैयाँ आम्दानी हुने उल्लेख गरिएको छ ।
त्यसैगरी गाउँपालिकाले आगामी वर्षमा चालु खर्चमा रु २४ करोड ७२ लाख ६९ हजार ५४ रुपैयाँ छुट्याएको छ भने पुँजीगत खर्चका लागि रु २० करोड ३२ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ ।
बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको ठूलो हिस्सा रहने देखिए पनि आन्तरिक आम्दानीतर्फको योगदान पनि सकारात्मक देखिएको छ । बजेट संरचनाबाट सेवा प्रवाह, विकास पूर्वाधार तथा स्थानीय स्रोत परिचालनमा गाउँपालिकाको प्रतिबद्धता झल्किएको छ ।
बजेट सार्वजनिक गर्दै गाउँपालिकाले आगामी वर्षमा समन्वय, सहभागिता र पारदर्शितालाई प्राथमिकतामा राखेर योजनाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

