असार १०, बारा । कृषि तथा पशुपन्छी विकास मन्त्रालय द्वारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार २०८१ यस वर्ष बाराको निजगढ नगरपालिका १ का किसान हिरा बहादुर थापा मगरलाई प्रदान गरिएको छ ।
कृषि क्षेत्रलाई व्यावसायिक र आत्मनिर्भर बनाउन, उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याएको भन्दै मगरलाई नगद २ लाख रुपैया सहित प्रमाणपत्र राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सम्मान गरिएको हो ।

निजगढ केरा एग्रीकल्चर फार्मका सञ्चालक समेत रहेका मगरले आफ्नो मेहनत, दक्षता र समर्पण मार्फत नेपालको कृषि उत्पादनमा सुधार ल्याउने कार्यमा उल्लेखनीय सफलता हात पारेका छन् ।
कृषि मन्त्रालयले हरेक वर्ष दिने राष्ट्रिय उत्कृष्ट कृषि पुरस्कार सातवटै प्रदेशका २ २ जना उत्कृष्ट कृषकलाई प्रदान गरीने गरिएको छ । जसअन्तर्गत मधेश प्रदेशबाट बारा निजगढका हिरा बहादुर थापा मगर र अर्का सप्तरीका किसान छनौटमा परेका हुन् ।
उक्त सम्मानले जिल्लाका अन्य कृषकहरूलाई पनि आधुनिक तथा व्यावसायिक कृषि प्रणाली अपनाउन प्रेरणा मिल्ने विश्वास गरिएको छ। मन्त्रालयका अनुसार किसान मगरको उत्पादन क्षमता, कृषि नवप्रवर्तनमा प्रयोग, रोजगारी सिर्जना तथा समाजमा पारेको प्रभावको आधारमा राष्ट्रिय स्तरमा छनोट गरिएको हो ।

