असार १०, बारा – बाराको देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि कुल ३८ करोड ८५ लाख ९९ हजार ८ सय ५६ रुपैयाँ बराबरको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १४ औं गाउँसभा मार्फत सो बजेट सार्वजनिक गरेको हो ।
गाउँसभामा उपाध्यक्ष सितापती देवी यादवको तर्फबाट गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा स्थानीय पूर्वाधारको सुदृढीकरण, शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी सिर्जना तथा आन्तरिक आय अभिवृद्धिलाई प्राथमिकता दिइएको छ।
बजेटमा समेटिएको आय विवरण अनुसार नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान ९ करोड १२ लाख, सशर्त अनुदान १४ करोड ३५ लाख तथा राजस्व बाँडफाँडबाट ७ करोड ८५ लाख ७६ हजार ९ सय ३६ रुपैया प्राप्त हुने उल्लेख रहेको छ। त्यस्तै प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान ६२ लाख ७४ हजार, सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख र सम्पूरक अनुदान २० लाख रहेको जनाइएको छ । प्रदेश सरकारबाटै राजस्व बाँडफाँड शीर्षकमा पनि ५० लाख ४८ हजार ९२० बजेट आएको छ ।
गाउँपालिकाले आन्तरिक स्रोतबाट ५ करोड १० लाख उठाउने लक्ष्य राखेको छ । गाउँपालिका स्रोतमा आधारित आय वृद्धि र राजस्व संकलन प्रणालीलाई प्रभावकारी बनाउने योजना समेत बजेटमा समावेश गरिएको अध्यक्ष यादवले जानकारी दिएका छन् ।
१४ औं गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष यादवले गरेका थिए भने सञ्चालन मनिष साह कलवारले गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले स्वागत मन्तव्य राखेका थिए । सभामा कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा सदस्यहरू, कर्मचारीहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बजेट र नीति कार्यक्रममा समावेश विकास दृष्टिकोण, गरिबी निवारण, महिला सशक्तिकरण र युवा लक्षित कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको अध्यक्ष यादवले बताए ।

