Tuesday, May 26, 2026

पथलैयामा झोलाभित्र लुकाइएको चरेससहित एक जना पक्राउ, नगद पनि बरामद

ताजा / भरखरै प्राप्त

असार ११, बारा । बाराको पथलैया चोकमा प्रहरीले झोलाभित्र लुकाएर राखिएको लागू औषध चरेस र नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट झण्डै दुई किलो चरेस र नेपाली–भारतीय रुपैयाँ गरी १ लाख २३ हजारभन्दा बढी नगद बरामद गरिएको छ ।

प्रहरी नायब निरीक्षक बब्बी बम्जनको कमाण्डमा मंगलबार साँझ प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा सहचालक साइडको सिटमा बसेका एक व्यक्तिले बोकेको कालो झोला शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्दा झोलाभित्र लागू औषध चरेस १ किलो ९ सय ३३ ग्राम र १ लाख २३ हजार २ सय ४७ रुपैया नगद फेला पारेको हो ।

पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ का स्थायी बासिन्दा ५६ वर्षीय बच्चु कुमार बुढाथोकी हुन् । उनी हाल बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ६ सिदरीया टोलमा बसोबास गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङका अनुसार बुढाथोकीको साथबाट १ किलो ९ सय ३३ ग्राम लागू औषध चरेस, नेपाली रुपैयाँ ६० हजार ५ सय र भारतीय रुपैयाँ ३९ हजार २ सय १७ गरी कुल नेपाली रुपैयाँ १ लाख २३ हजार २ सय ४७ बराबरको नगद बरामद गरिएको हो ।

प्रहरीले बुढाथोकीलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

spot_img

लोकप्रिय

Related Articles