असार १२, बारा । भारतबाट अवैध रुपमा ठूलो मात्रामा हुण्डीको रकम नेपाल भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले एक भारतीय नागरिकलाई भन्सार क्षेत्रमा पक्राउ गरेको छ ।
आज बिहिबार अपरान्ह ४ बजेको समयमा भन्सार सुरक्षा गस्तीमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका १ स्थित भन्सार कार्यालय अगाडि विभिन्न सवारी साधन तथा पैदल यात्रुहरूलाई चेकजाँचको क्रममा प्रहरीले एक शङ्कास्पद मोटरसाइकल चालकलाई रोकेर चेक गर्दा हुण्डीको रकम फेला परेको हो ।
भारतको बिहार राज्य बैरगनिया बाट नेपाल प्रवेश गरिरहेका BR05A6705 नम्बरको मोटरसाइकललाई शंकाको आधारमा रोकेर चेक गर्दा १० लाख भन्दा बढी हुण्डीको रकम प्रहरीले फेला पारेको हो । हुण्डीको रकम सहित प्रहरीले मोटरसाइकल चालक ३० वर्षीय मोहम्मद करमान अलीलाई पनि पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।
शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि र हेलमेट बक्सभित्र लुकाइछिपाई राखिएको १ हजार दरको नोट ७ सय १० थान, ५०० दरको नोट ५ सय ४० थान, १०० दरको नोट २ सय थान, ५० दरको नोट ९० थान गरी १० लाख ४ हजार ५ सय रुपैया प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिले उक्त रकम वैध स्रोतबाट आएको पुष्टि गर्न नसकेपछि उनलाई भन्सार ऐनअनुसार आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका व्यक्ति संग सोधपुछ गर्ने क्रममा उक्त हुण्डीको रकम भारत बैरगनियाका हुण्डीका कारोबारी दिलिप जयसवाल समूहको रहेको खुलेको छ । पहिला देखि नै रौतहटको विभिन्न नाकाबाट हुण्डीको कारोबार गर्दै आएका दिलिप समुहको हुण्डीको कारोबार बारे समाचारहरु प्रकाशन भएपछि कारोबार रोकिएको थियो तर रौतहटमा नयाँ प्रहरी प्रमुख फेरीएसंगै उक्त समुहले हुण्डीको कारोबारलाई पुन तिब्रता दिएको समाचार स्रोतको दाबि छ ।

