Tuesday, May 26, 2026

अखाद्य तेलजन्य पदार्थ र इन्धन चोरी धन्दा : ट्रकसहित एक जना पक्राउ

ताजा / भरखरै प्राप्त

असार २२, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित हलेसी पेट्रोल पम्प नजिक रहेको विष्णुराज ठकुरीको जग्गामा चोरीका तेलजन्य पदार्थ लुकाई राखिएको सूचनाका आधारमा प्रहरीले मिनि ट्रकसहित एक जनालाई पक्राउ गरेको छ ।

इटहरी बस्ने सुरेन आलेले संचालन गर्दै आएको गाडी वास ग्यारेज पछाडि खाली ठाउँमा ट्यांकरबाट तेल चोरी गरी बिक्री भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो ।

छापाको क्रममा बाराको फत्तेपुरका २१ वर्षीय सुवास चौधरीले चलाएको ना १ क २८३६ नम्बरको मिनि ट्रकमा विभिन्न प्रकारका तेल तथा अखाद्य बनस्पति तेल जस्तो देखिने पदार्थ लोड गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति र ट्रकबाट बनस्पतिजन्य तेल १ हजार लिटरको ६ वटा ड्रम र १५ लिटरको ५३ वटा ग्यालेन, पेट्रोल २ सय लिटरको ५ वटा ड्रम, डिजेल २ सय लिटरको ३ वटा ड्रम र मट्टितेल २ सय लिटरको २ वटा ड्रम, १ वटा ड्रममा १०० लिटर, २० लिटरका १५ वटा ग्यालेन पुलिसले बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सामग्रीसहित मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बरामद तेलजन्य वस्तुको अनुमानित बजार मूल्य जम्मा करिब ९ लाख ७६ हजार ४ सय ५० बराबर रहेको खुलेको छ ।

प्रहरीका अनुसार, यो गिरोहले लामो समयदेखि चोरीका इन्धनजन्य तथा अखाद्य तेलजन्य पदार्थको कारोबार गर्दै आएको आशंका गरिएको छ ।

spot_img

लोकप्रिय

Related Articles