असार २३, बारा । सामान्यतया कुनै पनि कामको अन्तिम भुक्तानिका लागि काम सम्पन्न भएको हुनुपर्दछ । तर पर्यटन विकास कार्यालय वीरगंज पर्साका कार्यालय प्रमुख बबिता जैसवालले निर्माण अधुरो रहेको योजनाहरुको पनि अन्तिम भुक्तानी धमाधम गरिरहेको पाईएको छ ।
बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाहिमा प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयबाट ४९ लाख ५१ हजार ४ सय ४२ रुपैयाको बजेट बाट निर्माण भईरहेको धर्मशाला तथा विवाह मण्डपको भवनको निर्माण सम्पन्न नहुँदै भुक्तानी गरेको कार्यालय प्रमुख जैसवालले स्वयम स्विकार गरेकि छन् । असार १९ गते विहिबार छतको ढलान भएको भवनको भुक्तानी भइसकेको कार्यालय प्रमुख जैसवालको भनाई छ ।
तर यता पर्यटन विकास कार्यालयका प्राविधिकहरुले नै छत ढलान भएको १४ दिन सम्म पानी जमाएर राख्नु पर्ने र त्यसको एकसाता पछि सेन्ट्रींग खोल्नुपर्ने बताउँछन् । त्यसपछि ल्याबटेष्ट लगायतको अन्य प्राविधिक परिक्षणहरु पुरा भएपछि मात्र अन्तिम भुक्तानी गर्नुपर्ने हो तर कार्यालय प्रमुखको दबावका कारण बिना प्रक्रिया पुर्याइ धमाधम भुक्तानी भईरहेको छ ।
बिना प्राविधिक ज्ञानको कार्यालय प्रमुख बनेकि जैसवाल भने पत्रकारको प्रश्नमा झर्किने गरेकी छन् । बारा र पर्सा कार्यक्षेत्र रहेको त्यस कार्यालय बाट भईरहेको निर्माण कार्य बारे कुनै पत्रकारहरुले जानकारी लिन खोज्दा प्रश्न बाट पन्छिन खोज्ने गरेकि छन् ।
पर्यटन विकास कार्यालय वीरगंज पर्सा बाट बारामा मात्र विभिन्न पालिकाहरुमा यस आर्थिक वर्षमा २३ वटा योजना संचालन भएका छन् । ती सबै योजनाहरुमा कमिशनका लागि ल्याब टेष्टको रीपोर्ट बिना नै भुक्तानी भइरहेको कार्यालयका प्राविधिहरु बताउँछन् ।

