असार २४, बारा । वातावरणीय द्वन्द्वबारे आधारभूत चेतना अभिवृद्धि गर्दै कलैयामा एक विशेष कार्यशाला सम्पन्न गरिएको छ ।
सामाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजनामा बरेवा दरबार होटलमा सम्पन्न “वातावरणीय हिंसा नक्साङ्कन कार्यशाला”मा प्रसौनी गाउँपालिकाका दुई विद्यालयका १५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालाको प्रमुख उद्देश्य विद्यार्थीहरूलाई वातावरणीय परिवर्तनले मानव जीवनमा पार्ने प्रभाव, त्यसबाट उत्पन्न हुने द्वन्द्व र त्यसको समाधानका उपायबारे सचेत बनाउनु थियो । कार्यक्रममा सामाजिक परिवर्तन केन्द्र काठमाडौंका अध्यक्ष तथा वातावरणीय नीति विशेषज्ञ पवन राय र रिसर्च अफिसर प्रतिक्षा गिरीले सहभागी विद्यार्थीहरूलाई सहज र अन्तरक्रियात्मक शैलीमा प्रशिक्षण प्रदान गरेका छन् ।
प्रशिक्षणको क्रममा वातावरणीय हिंसा न्यूनीकरणका व्यवहारिक विधिहरू, जलवायु परिवर्तनका प्रभाव, स्थानीय समस्याहरूको नक्साङ्कन, र समाधानका उपायहरूबारे विद्यार्थीलाई ज्ञान दिइएको थियो । सहभागीहरूले कार्यशालाबाट प्राप्त ज्ञानका आधारमा विद्यालय तथा समाजमा लागु गर्ने गरी कार्ययोजना समेत निर्माण गरेका छन्। ती योजनाहरू स्थानीय स्तरमै कार्यान्वयन गरिने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमका सन्दर्भमा सामाजिक परिवर्तन केन्द्र बाराका फिल्ड अफिसर विक्की महतोले भने, “विद्यार्थी र युवाहरूमा वातावरणीय हिंसा र त्यसबाट उत्पन्न हुने द्वन्द्वबारे आधारभूत समझदारी बनाउनु, उनीहरूलाई जिम्मेवार बनाउँदै संरक्षणमा नेतृत्व लिन प्रोत्साहित गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।”
उक्त कार्यशालाबाट वातावरणीय मुद्दा प्रति बालबालिका र युवाहरुको चेतना र संलग्नता बढ्ने अपेक्षा गरिएको छ । आयोजक संस्थाले यस्ता कार्यक्रमलाई ग्रामीण स्तरमा निरन्तरता दिने तयारी समेत गरेको जनाएको छ ।

