साउन १८, बारा । बाराको कलैयामा आइतबार आम जनता पार्टी ले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको रवैया माथि कडा आलोचना गरेका छन् । उनले मधेसलाई “विपद संकटग्रस्त क्षेत्र” घोषणा गरेर सरकार ललिपप बाँड्ने शैलीमा सीमित भएको आरोप लगाएका छन् ।
सरकारले घोषणा मात्रै गर्छ तर राहत दिँदैन । मधेसमा पानी छैन, जनता प्यासले छटपटाइरहेका छन्, तर सरकारले घोषणाको तमाशा देखाएर झन् पिडा थपेको साहले भने । साहका अनुसार सरकारले विपद घोषणा गरेर आफ्नो कर्तव्य पूरा भएको ठानेको छ, तर वास्तविक पीडामा परेका जनतालाई कुनै राहत योजना ल्याउन नसक्नु गैर जिम्मेवारी रहेको हो ।

साहले प्रधानमन्त्री केपी शर्मा ओलीको हेलिकप्टर अनुगमन र डिपबोरिङको घोषणालाई हावादारी गफ भन्दै आलोचना गरेका छन् । उनले प्रश्न गरे, प्रधानमन्त्री ज्यू, तपाईंले पाँच सय डिपबोरिङ गाड्ने भन्नुभएको थियो, तर अहिले कहाँ छन् ती डिपबोरिङ न खानेपानी मन्त्रालयलाई थाहा छ, न सिचाइ विभागलाई।”
साहले केवल घोषणा नभई तत्काल राहत प्याकेज ल्याउनुपर्ने माग गरेका छन् । घोषणाले होइन, व्यवहारले जनताको पीडा कम हुन्छ भन्दै उनले सरकारलाई योजनाबद्ध ढंगले डिपबोरिङ, पानी आपूर्ति र कृषिमा सिँचाइको वैकल्पिक उपाय तत्काल लागू गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा आजपाका केन्द्रीय सदस्य अशोक लामा, त्रिभुवन साह, उमेश कुशवाहा लगायतको विशेष उपस्थिति थियो।

