Tuesday, May 26, 2026

विद्यार्थीद्वारा सरसफाइ अभियानको शुभारम्भ, वातावरण संरक्षणतर्फ सार्थक कदम

ताजा / भरखरै प्राप्त

साउन ०३, बारा । स्वच्छ विद्यालय, स्वस्थ जीवन भन्ने नारालाई आत्मसात गर्दै प्रसौनी गाउँपालिका ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खुटवाजब्दीका कक्षा ९ र १० का विद्यार्थीहरूले विद्यालय सरसफाइ अभियानको औपचारिक सुरुवात गरेका छन् ।

साउन २ गते शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोह मार्फत सुरु गरिएको उक्त अभियानको अध्यक्षता विद्यालयका प्रधानाध्यापक पवन कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोद पटेलको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष याकुब अन्सारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवीहरू, शिक्षकवृन्द तथा विद्यार्थीहरू सक्रिय सहभागी थिए ।

कक्षा १० का विद्यार्थी प्रितम गुप्ताले वातावरणीय सरोकार विषयक कार्यशालाबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले सरसफाइ अभियानको योजना अघि बढाइएको जानकारी दिए । हालै सामाजिक परिवर्तन केन्द्र, काठमाडौँको आयोजनामा सम्पन्न ‘वातावरणीय हिंसा सम्बन्धी कार्यशालामा सहभागी भई वातावरणीय समस्याबारे प्राप्त अनुभवलाई विद्यालय तथा समाजमा उपयोग गर्ने लक्ष्य अनुरूप यो अभियान थालिएको उनले स्पष्ट पारे ।

“सफासुग्घर विद्यालय हाम्रो प्राथमिकता हो । हामीले आफ्नै प्रयासमा कक्षा कोठा तथा विद्यालय परिसर सफा राख्ने संकल्प गरेका छौं,” प्रितमले भने । साथै, उनले यस अभियानमा सहयोग पुर्याउने सामाजिक परिवर्तन केन्द्र, विद्यालय प्रशासन तथा सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विनोद पटेलले विद्यार्थीहरूको पहललाई प्रेरणादायक भन्दै अभियानलाई निरन्तरता दिन पालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । वडा अध्यक्ष याकुब अन्सारीले पनि अभियानप्रति सकारात्मक प्रतिक्रिया दिँदै भविष्यमा समेत विद्यार्थीहरूको सक्रियता अत्यन्तै सराहनीय हुने बताएका छन् ।

अभियानलाई सशक्त बनाउन सामाजिक परिवर्तन केन्द्रले विद्यालयलाई सहयोग स्वरूप हरेक कक्षाका लागि सानो आकारका २० थान डस्टबिन, दुई थान ठूलो डस्टबिन, १० थान झाडू, ५ सय लिटर क्षमताको पानी ट्याङ्की तथा १० थान फोहर संकलन सामग्री हस्तान्तरण गरेको छ ।

सामग्री हस्तान्तरण गर्दै सामाजिक परिवर्तन केन्द्र बारा संयोजक विक्की महतोले यस अभियानले विद्यालय स्तरमै वातावरणीय सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

उक्त अभियानले विद्यालयका विद्यार्थीहरूलाई न केवल सफाइप्रति सजग बनाउनेछ, बरु दीर्घकालीन रूपमा वातावरण संरक्षणका लागि जिम्मेवार नागरिक बन्न उत्प्रेरित पनि गर्नेछ ।

spot_img

लोकप्रिय

Related Articles