Tuesday, May 26, 2026

न्यायिक समितिको आदेश नमानेपछि विवाद चुलियो

ताजा / भरखरै प्राप्त

भदौ २१, बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ सिस्वा महेशपुरका स्थानीय रविन्द्र कुमार गिरीले न्यायिक समितिले दिएको आदेश पालना नगरेपछि विवाद चुलिएको छ ।

साबिक महेशपुर गाविस वडा नम्बर १ निवासी जगन्नाथ राउत अहिरका छोरा असर्फि प्रसाद यादवले गिरीविरुद्ध उजुरी दर्ता गरेका थिए । उनले आफ्नो नाममा दर्ता भएको कि.न. १९० को ४ कठ्ठा क्षेत्रफलमा रहेको जग्गाको पश्चिमपट्टि गिरीले नियम विपरीत झ्याल खोलेको आरोप लगाउँदै न्यायिक समितिमा उजुरी दिएका थिए ।

उक्त उजुरीको छानबिन तथा स्थलगत अध्ययनपछि कलैया उपमहानगरपालिकाको न्यायिक समितिले गिरीलाई तत्काल झ्याल बन्द गर्न आदेश दिएको थियो । निर्माण सम्बन्धी प्रचलित कानुनअनुसार छिमेकीको जग्गातर्फ झ्याल खोल्न कम्तीमा ३ फिट खाली छाड्नुपर्ने प्रावधान भए पनि गिरीले जम्मा डेढ फिट मात्र छाडेर झ्याल खोलेको समितिको निष्कर्षमा उल्लेख छ ।

समितिको फैसलापछि समेत गिरीले आदेशको पालना नगरेको असर्फि यादवको आरोप छ । उनले भने, “न्यायिक समितिको आदेश पालना गर्न भनिए पनि गिरी अटेरी गर्दै आएका छन् । यो कानुनको खुलेआम उल्लंघन हो ।”

यसअघि जिल्ला प्रशासन कार्यालय बाराले समेत समितिको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएको भए पनि गिरीले झ्याल बन्द नगरेको स्थानीयले बताएका छन् । यसरी निर्णय कार्यान्वयन नहुँदा कानूनको मर्यादामाथि प्रश्न उठेको भन्दै प्रभावित पक्षले असन्तोष जनाएका छन् ।

न्यायिक समितिको आदेश पालना नगर्ने प्रवृत्तिले स्थानिय तहमा बढ्दै गएको न्यायिक संरचनाको प्रभावकारिता माथि समेत प्रश्न खडा भएको देखिन्छ । समितिको आदेश कार्यान्वयन गराउन प्रशासनिक संयन्त्रलाई अझै कडाइका साथ अघि बढ्नुपर्ने देखिन्छ ।

spot_img

लोकप्रिय

Related Articles