Tuesday, May 26, 2026

गौर हत्याकाण्ड : प्रहरीले अनुसन्धान अगाडी बढाउदा आरोपितहरु शसंकित

ताजा / भरखरै प्राप्त

धर्मेन्द्र कुमार साह
भदौ २१, रौतहट ।

• ७ जनाको जाहेरीबाट परेको थियो उजुरी
• आरोपित मध्ये ११ जनाको निधन पहिल्यै भईसकेको छ l
• प्रहरीले अनुसन्धान अगाडी बढाउदा पुर्व प्रदेश सभा सदस्य देखि मेयर सम्म तानिने

गौर हत्याकाण्ड सम्बन्धि अनुसन्धान प्रक्रिया अगाडी बढे संगै आरोपितहरु सशंकित देखिएको छ l जिल्ला प्रहरी कार्यालय गौरमा दर्ता रहेका जाहेरी निवेदनमा अनुसन्धान प्रक्रिया अगाडी बढाउन सर्वोच्च अदालतले दिएको परमादेश र त्यस पछी प्रहरीले थालेको प्रारम्भिक अनुसन्धान प्रक्रियाबाट आरोपितहरु आक्रोशित र शसंकित देखिएको हो l
तत्कालिन समयमा रौतहट जिल्लामा क्रियाशील र सक्रिय रहेका अधिन्कांस राजनीतिकर्मी तथा नागरिक समाजका व्यक्तिहरु माथि मुद्धा दर्ता रहेको अवस्थामा अनुसन्धान प्रक्रिया अगाडी बढेपछी आरोपितहरुमा आशंका बढेको हो l
पुर्व प्रधानाध्यापक रामेश्वर राय यादवले अदालतको निर्णय र प्रहरी प्रक्रियाले मानसिक यातना दिएको बताए l उनले बिद्रोह र क्रान्तिको बेला घटेको दुर्भाग्यपूर्ण घटनामा निर्दोसहरु माथि समेत अन्धाधुन्ध जाहेरी परेकोमा आक्रोस समेत व्यक्त गर्छन l उनले राजनैतिक मुद्दामा भयभित हुने अवस्था हुदैन तर यो ज्यान सम्बन्धि मुदा भएको र प्रहरीले पक्राउ गर्न सक्ने कानुनि अधिकार पाईसकेकोले आन्दोलन अन्तिम बिकल्प रहेको बताए l
जनमत पार्टीका जिल्ला ईन्चार्ज शेख जम्शेदले आफु भित्र डर भन्दा पनि आक्रोस रहेको बताउछन l उनले सरकारले नश्चलीय व्यवहार देखाएकोले जनताले सडकबाट जवाफ फर्काउने बताए l
अधिकांस आरोपितहरुले घटनामा आफुहरुको कुनै भूमिका नरहेको दावी गर्दै आएको छ l
२७ जनाको ज्यान जाने गरि भएको चर्चित गौर हत्याकाण्डको अनुसन्धान अगाडी बढाउने भाद्र २ सर्वोच्च अदालतले प्रहरीको नाउँमा परमादेश जारि गरे पछि बिभिन्न दल तथा संघ संस्था संग आवध आरोपितहरू निरन्तर आन्दोलन गर्दै आएको छ l
२०६३ चैत ७ गते भएको उक्त हत्याकाण्ड पछी जिल्ला प्रहरी कार्यालय गौरमा २०६४ अगहन ११ गते ७ जना व्यक्तिहरुले अलग अलग जाहेरी दर्ता गराएका थिए l अलग अलग ७ जाहेरिबाट १३० जना आरोपित बनाइएको थियो l
तत्कालिन सखुवा गाबिस वार्ड नम्बर ४ का जयराम यादवले दिएको जाहेरिबाट ४७ जना, तत्कालिन गाबिस रमौली बैरिया वार्ड नम्बर ७ का देवेन्द्र पटेलले दिएको जाहेरीमा ६१ जना,तत्कालिन गाबिस सरमुजवा निवासी जय प्रकास साहले दिएको जाहेरीमा २९ जना,सोहि गाबिस निवासी रामनन्दन साहको जाहेरीमा २६ जना, तत्कालिन सोनारनिया गाबिस बस्ने राजदेव सिंहको जाहेरिबाट ३२ जना,तत्कालिन सरमुजवा बस्ने त्रिभुवन साहको जाहेरिबाट ३० जना र तत्कालिन सखुवा वार्ड नम्बर ५ का लडाई यादवको जाहेरीबाट २८ जना माथि जाहेरी दर्ता गरिएको थियो l ७ ओटै जाहेरीमा कयौ व्यक्तिहरुको नाम दोहरिएको छ l
जिल्ला प्रहरी कार्यालय गौरले घटना सम्बन्धमा अनुसन्धानको प्रक्रिया अगाडी बढेको बताए पनि यस बारे थप खुलाउन चाहेको छैन l जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार प्रहरीले अनुसन्धानको काम अगाडी बढाएको तर ओराक्रियागता रुपमा अझै केहि काम भैरहेको छ l यस अघि मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरीले तिन पुस्ते संकलनको काम सुरु गरेको जनाएको थियो l जाहेरी उजुरी परेका मध्ये धेरै जनाको ठेगाना नखुलेको तथा तीनपुस्ते नखुलेकोले पनि प्रहरीलाई तीनपुस्ते संकलन गर्न चुनौती छ l
आरोपित मध्ये ११ को पहिल्यै मृत्यु
प्रहरी जाहेरीमा नाम उल्लेख रहेका मध्ये ११ जनाको पहिल्यै मृत्यु भईसकेको छ l घटनाको १९ वर्ष पछी अनुसन्धानको प्रक्रिया अगाडी बढ्दा आरोपित मध्ये ११ जनाको मृत्यु भईसकेको छ l आरोपितहरु गौर नगरपालिकाका पुर्व मेयर गौरीशंकर यादव, चन्द्रिका प्रसाद सिंह, सर्वोच्च अदालतका पुर्व न्याधिस बलराम सिंह कुवर,रामकलेवर सिंह,संजिव कुमार यादव, रामप्रसाद लाल, राम अयोध्या महतो, नवल यादव,रामाशंकर श्रीवास्तव, राजिनंद सिंह लगायतका ११ जनाको पहिल्यै निधन भईसकेको छ l
प्रहरीले अनुसन्धान अगाडी बढाउदा अनुसन्धानको दायरामा पुर्व प्रदेश सभा सदस्य देखि बहालवाला नगरप्रमुख र गाउँपालिका अध्यक्षहरु समेत तानीने छ l पुर्व प्रदेस सभा सदस्य बाबुलाल साहको नाम सातै जाहेरीमा राखिएको छ l हाल उनि लोसपाका नेता हुन् l गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह तथा दुर्गाभागावती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह समेत अनुसन्धानको दायरामा तानिनेछ l अनुसन्धानमा मधेश केन्द्रित दलका नेताहरु संगै सत्तारुध नेपालि कांग्रेस,नेकपा एमाले लगायतका नेताहरु समेत पर्नेछ l नेकपा एमालेका केन्द्रीय सदस्य अजय गुप्ता, नेपालि कांग्रेसका जिल्ला सचिव रामचन्द्र गिरि, जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्शेद, नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरी ,नेपाल बार एसोसिएसनका पुर्व अध्यक्ष नन्दकिशोर साह लगायतहरु समेत अनुसन्धानको दायरामा आउनेछ l
२०६३ चैत ७ गते गौरको राईस मिलमा तत्कालिन मधेशी जनाधिकार फोरम र माओवादी निकटका राष्ट्रिय मधेशी मुक्तिमोर्चाका कार्यकर्ताहरु बीच सभाको बिषयमा भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको हत्या गरिएको थियो l
उक्त झडपमा सयभन्दा बढी घाइते भएका थिए । झडपमा प्रतिमा खातुन, उषा थापा, चुनु ठाकुर, राजु पटेल, सरस्वती उप्रेती, प्रमोद भन्ने रामशरण यादव, नर्वदेश्वर उपाध्याय, छते वाइवा, नारायण दाहाल, राजन पोखरेलको मृत्यु भएको थियो ।
त्यसैगरी, रोहिन पाख्रिन, रत्न बोगटी, विविन्द्र मगराती, संयोग भन्ने जितेन्द्र थापा मगर, कुमार भन्ने कुमार तौलांगे, रमाकान्त जयसवाल भन्ने रमाकान्त चौधरी, राकेश भन्ने उज्ज्वल दाहाल, सन्देश भन्ने दीपक पाण्डे, प्रभा भन्ने उर्मिला लो, मुनाल विक, आदेश भन्ने पूर्ण जोशी, श्याम भन्ने हस्तबहादुर श्रेष्ठ, पलपल भन्ने रामकाजी कार्की, धर्मेन्द्र भन्ने महेन्द्र साह, रामविश्वास राय यादव, प्रतिमा भन्ने रेखा परियार र गोविन्द अधिकारीको मृत्यु भएको थियो ।

spot_img

लोकप्रिय

Related Articles