भदौ २३, बारा । बाराको सुवर्ण गाउँपालिकाले पदाधिकारी तथा कर्मचारीका लागि मोबाइल खरिद गर्ने नाममा ४ लाख ३१ हजार ३ सय १० रुपैयाँको अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनले खुलासा गरेको छ ।
आर्थिक वर्ष २०८०।०८१ को महालेखा परीक्षक प्रतिवेदन अनुसार प्रचलित कानुनमा गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीलाई मोबाइल उपलब्ध गराउने व्यवस्था नै नभए पनि सुवर्ण गाउँपालिकाले आफुखुसी यस्तो सुविधा वितरण गरेको छ ।
प्रतिवेदन अनुसार गाउँपालिकाले ७ हजार ३ सय ४५ रुपैयाँ देखि २५ हजार ४ सय २५ रुपैयाँ सम्मका मोबाइल खरिद गरी पदाधिकारी तथा कर्मचारीलाई वितरण गरेको देखिन्छ । तर मोबाइल पाउने पदाधिकारी तथा कर्मचारीहरूको नामावली माग्दा समेत गाउँपालिकाले विवरण उपलब्ध गराउन अस्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ ।
२०८० असोज १७ गते मात्रै ३ लाख ५६ हजार ५ सय ४ रुपैयाँ र २०८० पुस २५ गते ७४ हजार ८ सय ६ रुपैयाँ भुक्तानी गरी कुल ४ लाख ३१ हजार ३ सय १० रुपैयाँ बराबरको मोबाइल खरिदमा अनियमितता भएको प्रतिवेदनमा स्पष्ट गरिएको छ ।
यसरी कानुनमा नै व्यवस्था नभएको सुविधा उपलब्ध गराउँदै सार्वजनिक रकमको दुरुपयोग गर्ने सुवर्ण गाउँपालिकाको कार्यले स्थानीय तहमा चरम वित्तीय अनुशासनको धज्जी उडाएको देखाएको छ ।

