असोज १५, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नजिक आज बिहान जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब १० बजे ना ५ ख ८५३७ नम्बरको बस अचानक ब्रेक फेल भएर ब्याक हुँदा सोही दिशातर्फ गइरहेका ना १२ प ३३६० र प्रदेश ०३–०२४ प ४४९५ नम्बरका दुई मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट दुवै मोटरसाइकलमा सवार परिवारसहित ६ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका १ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्साको वीरगञ्ज महानगरपालिका ३१ की २६ वर्षीया कविता देवी रहेका छन् । गम्भीर घाइते अवस्थामा कलैया प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा दुवै जनालाई दिउँसो १२ १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहर्लिे जनाएको छ ।
दुर्घटनामा मकेश्वर पटेलकी पत्नी २२ वर्षीया कलिता देवी, २० महिनाकी छोरी तानेया पटेल तथा अर्का मोटरसाइकल चालक २७ वर्षीय कञ्चन कुमार पटेल र तीन वर्षीय छोरा आयुष पटेल घाइते भएका छन् । उनीहरूको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक सर्लाही लालबन्दी ३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि केही समय सवारी आवागमन प्रभावित भए पनि अहिले बाटो एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

