असोज १२, बारा । बारामा सशस्त्र प्रहरीले ३६ लाखभन्दा बढीको अवैध सामान सहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.को निर्देशनमा सुरक्षा बेस तेलकुवा बाट खटिएको टोलीले आइतबार आदर्शकोतवाल गाउँपालिका–१, बोहा जमुनिया भित्री सडकखण्डमा चेकपोइन्ट थापेर उक्त सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब निरीक्षक संजयकुमार यादवको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा जाँच गर्ने क्रममा बागमती प्रदेश ०१–०२५ च ६१७६ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको थियो ।

उक्त गाडीबाट बिल–बिजक बिना राखिएको १५ लाख ८५ हजार ५ सय रुपैयाँ बराबरको महिलाको रेडिमेड कपडा तथा ५० हजार रुपैयाँ मूल्य बराबरका ६० बन्डल नागिन पटका बरामद गरिएको प्रहरीले जनाएको छ । साथै, उक्त पिकअप गाडीको अन्दाजी मूल्य २० लाख रुपैयाँ रहँदा, बरामद सामग्रीसहित जम्मा ३६ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरको सम्पत्ति नियन्त्रणमा लिइएको हो ।
रेडिमेड कपडा, पटका र गाडी सहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक के.सी.ले जानकारी दिएका छन् ।

