कार्तिक २६, बारा । लागुऔषधको प्रयोग गरी केहि युवाहरुले उच्चशृंखल गतिविधि गर्न थालेपछि बाराको महागढीमाई नगरपालिका २ मैनीमा लागुऔषध दुरुपयोग रोकथामका लागि सामाजिक नियम लागू गरिएको छ ।
महागढीमाई नगरपालिका २ का वडा अध्यक्ष विश्वनाथ प्रसाद कुशवाहाको अध्यक्षतामा स्थानीयवासीहरूको सहभागितामा बसेको बैठकले सुधार र सचेतनाको उद्देश्य सहित सामाजिक नियम निर्माण गरी लागू गरेको हो । वडा अध्यक्ष कुशवाहाका अनुसार नियम उल्लंघन गर्ने व्यक्तिलाई सामाजिक दण्डको व्यवस्था गरिएको छ ।
नयाँ लागू भएका नियमअनुसार युवाहरुलाई राति ८ बजेपछि अनावश्यक रुपमा बाहिर हिँड्न नपाइने, जुवातास खेल्न प्रतिबन्ध लगाइएको र किराना पसलमा रक्सी तथा लागुऔषध बिक्री गर्न निषेध गरिएको छ ।
स्थानीयबासीले यस अभियानलाई सामाजिक सुधार र युवाहरूलाई गलत बाटोबाट फर्काउने सकारात्मक पहलको रूपमा लिएका छन् । वडा कार्यालयले नियमको प्रभावकारी कार्यान्वयनका लागि समुदाय, अभिभावक र स्थानीय युवासँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

