मंसिर २०, बारा । बाराको पचरौता नगरपालिकाले शिक्षा क्षेत्रसँगै पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै तीव्र गतिमा विकास कार्य अघि बढाएको छ । सोही क्रममा वडा नम्बर ४ स्थित बेलदारी टोलमा करिब १ करोड ६६ लाख रुपैयाँ लागतको सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंहले उक्त योजनाको औपचारिक शिलान्यास गर्दै जनताले वर्षौंदेखि भोग्दै आएको सडक र पानी निकासको समस्या समाधानतर्फ नगरपालिका गम्भीर भएर लागेको बताएका छन् । बेलदारी गाउँमा वर्षामा पानी जम्ने, सडक हिलाम्य हुने र आवतजावतमा गम्भीर समस्या हुने अवस्थालाई मध्यनजर गर्दै यो योजना प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

नगरप्रमुख सिंहका अनुसार सामान्य वर्षामा समेत सडक हिलो बन्ने हुँदा सर्वसाधारणलाई दैनिक आवतजावत गर्न कठिनाइ भइरहेको थियो । “जनताले दैनिक भोगिरहेको समस्यालाई समाधान गर्न तत्काल आवश्यकताको आधारमा एकै दिनमा १ करोड ६६ लाखको निर्माण कार्यको शिलान्यास गरेका हौं,” उनले भने । साथै उनले नगरपालिका शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई समान रूपमा अघि बढाइरहेको र पचरौतामा समग्र सेवा प्रवाहको पहुँच सुधार गर्दै विकासको गति तीव्र बनाउने लक्ष्य रहेको स्पष्ट पारे ।

सडक ढलान तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई सहज आवतजावतको सुविधा मिल्ने र बेलदारी क्षेत्रको समग्र जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ। स्थानीयहरूका अनुसार बाटो बिग्रिएको कारण विद्यालय जाने विद्यार्थी, बिरामी बोकेर अस्पताल लैजानु र दैनिक कामकाजमा ठुलो समस्या हुँदै आएको थियो। “अब सडक बनेपछि यहाँका बासिन्दाले राहतका साथ आवतजावत गर्न सक्नेछौं,” एक स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।
नगरपालिकाले आगामी दिनहरूमा पनि पचरौताका अन्य वडाहरूमा आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिने जनाएको छ ।

