Tuesday, May 26, 2026

पाठेघरकाे मुखको क्यान्सर रोकथामका लागि रौतहटमा एचपिभी खोप अभियान

ताजा / भरखरै प्राप्त


चञ्चल कुमार झा
राैतहट, माघ २३ ।।
रौतहटमा महिलाको पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि एच.पि.भी. (HPV) खोप कार्यक्रम दुई चरणमा सञ्चालन गरिने भएको छ।
स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत  एच.पि.भी.  खोप कार्यक्रम सञ्चालन सम्बन्धी जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार जिल्ला समन्वय समिति राैतहटका सभापति राम अयोध्या राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डाक्टर सुरेश सुक्लाले पाठेघरको मुखको क्यान्सरको अवस्था, यसको जोखिम तथा एचपिभी खोपको प्रभावकारिताबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार प्रारम्भिक किशोरावस्थामै एचपिभी खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर रोकथाममा अत्यन्त प्रभावकारी हुने बताउनु भएको थियाे।
स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको  एच.पि.भी.  खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाइने बताउनु भएको छ। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय नजाने १०–१४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप सेवा प्रदान गरिने उहाँले स्पष्ट पार्नु भएको थियोे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले खोप कार्यक्रम सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक तथा सञ्चारकर्मीहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताउँदै सबै पक्षको सहकार्यमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गर्नु भयो।
स्वास्थ्य कार्यालय रौतहटका अनुसार एचपिभी खोप सेवा प्रथम चरणमा माघ २५ गतेदेखि राैतहटकाे फतुवा विजयपुर, बौधिमाई, मौलापुर, गढिमाई, ईशनाथ, परोहा, देवाही गोनाही तथा राजपुर नगरपालिकामा सञ्चालन गरिनेछ।
त्यसैगरी दोस्रो चरणमा फाल्गुन ०१ गतेदेखि चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा, माधव नारायण, गौर, कटहरिया र राजदेवी नगरपालिका तथा यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा खोप सेवा सञ्चालन गरिने स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।
नेपालमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २०८१ माघ–फागुन महिनामा देशव्यापी रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिएको स्मरण गराउँदै स्वास्थ्यकर्मीहरूले यो खोप अभियानले भविष्यमा महिलाको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको थियाे ।
कार्यक्रममा सम्बाेधन गर्दै सभापति राम अयोध्या राय यादवले किशोरीहरूका लागि एचपिभी खोप अभियानलाई जीवनदान दिने कदमको रूपमा वर्णन गर्दै हरेक किशोरीले सुरक्षित र स्वस्थ जीवन पाउने पर्ने भएकोले  खोप लगाइएमा भोलि उनीहरूले पाठेघरको क्यान्सरजस्ता रोगबाट बच्ने बताउनु भएका थिए ।
स्वास्थ्य कार्यालय राैतहटका सुचना अधिकारी अनिल कर्णले संचालन गर्नु भएको कार्यक्रममा प्रहरी उपरीक्षक सिताराम रिजाल,सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी,अनुसंधान उपनिर्देशक कुमार बुढाथोकी ,स्वास्थ्य कार्यालयका राजकुमार साह, संजय झा लगायत संचारकर्मी तथा स्वास्थ्यकर्मी र सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

लोकप्रिय

Related Articles