Tuesday, May 26, 2026

सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

ताजा / भरखरै प्राप्त

सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ।

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको हो। उनी नेपाल–भारत सीमा नजिकैको बडियारपट्टी, कचनारीको भित्री सडकमा गस्तीमा रहेका थिए। बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते भएका थिए।

घाइते यादवलाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा लगिएको थियो, जहाँ अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। यादव वडहरी बेस क्याम्पमा कार्यरत थिए।

सिरहा जिल्लाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार स्कोरपियोले ठक्कर दिएर भारततर्फ भागेको हुँदा गाडीको खोजी भइरहेको छ।

सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर स्कोरपियो भागेको जानकारी दिएका छन्। उनले भने, स्कोरपियोमा मदिरा बोकेको भन्ने सूचना आएको भए पनि गाडी फेला नपरेकोले यसबारे केही पक्का भन्न सकिँदैन।

spot_img

लोकप्रिय

Related Articles