काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमै विद्युत् खपत गर्न सक्नुपर्ने बताएका छन्।
फोटो पत्रकार क्लबको मंगलवारबाट काठमाडौँको कलापरिषद्मा शुरु भएको पावरिङ – नेपालः ऊर्जा क्षेत्रमा एशियाली विकास बैंक(एडिबी)-नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
राज्यमन्त्री तामाङले नेपालमा उत्पादित विद्युत् अब बेच्नेभन्दा पनि स्वदेशमै खपत बढाउनुपर्नेमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे। उत्पादित विद्युत् खपत बढाउन नेपालमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
राज्यमन्त्री तामाङले भने, ‘बंगलादेश, भारतमा विद्युत् बेच्ने कुरा भइरहेको छ। अब नेपालमै खपत गर्नुपर्छ। पेट्रोलमा काठमाडौँ उपत्यकामा करिब ३ हजार र पोखरामा २२ सय ट्याक्सी चलिरहेका छन्। विराटनगर, भैरहवा, नेपालगञ्ज, जनकपुरमा चलिरहेको छ। अब ऊर्जा मन्त्रालयले विद्युतीय ट्याक्सी चलाउन विदेशी दातासँग सहयोग मागेर अघि बढ्नुपर्छ।’
फोटो प्रदर्शनी मंसिर १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ।

