गोरखा – गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–१ की १८ वर्षीया सुचिना घलेको हत्या भएको छ। मंसिर १५ गते घाँस काट्न जंगल गएकी सुचिना घर नफर्किएपछि खोजी गरिएको थियो। तीन दिनपछि, मंसिर १८ गते, बारपाककै मैखर्क जंगलमा घरदेखि करिब तीन किलोमिटर पर डोकोसहित खाल्डोमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो।
घटनास्थलमा सुचिनाको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको चोट र दुई औंला काटिएको अवस्थामा शव भेटिएको छ। सुचिनाको माइती पक्षले हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडान लिएको छ।
मृतकका श्रीमान धनबहादुर गुरुङले मंसिर १९ गते प्रहरीमा जाहेरी दिएपछि, प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली खटाएर अनुसन्धान अघि बढाइएको छ। घटना गम्भीर भएकाले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ। रिपोर्ट आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ।
घटनास्थलमा सुचिनाको शव भेटिएको स्थान नजिकै अर्को डोको र टोपी फेला परेकाले, प्रहरीले त्यसलाई अपराधीसम्म पुग्ने प्रमाणका रूपमा अनुसन्धान गरिरहेको छ।
सुचिनाको माइती रहेको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबै पक्ष लाग्नुपर्ने बताएकी छन्।
बारपाक सुलिकोट गाउँपालिकाले पनि विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ। सुचिनाको विवाह गत वैशाखमा बारपाककै धनबहादुर गुरुङसँग भएको थियो। उनका श्रीमानका सात दाजुभाइ रहेको बताइएको छ।

