चितवन – चितवनबाट पोखरा ल्याइँदा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च रक्तचापको समस्या देखिएको छ। पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा उनको ब्लड प्रेसर १८०/९० पुगेको पाइएको हो।
शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कास्की प्रहरी हिरासतमा लामिछानेलाई भेटेर सोधपुछ गर्दा उनले प्रहरी दुर्व्यवहार र स्वास्थ्य परीक्षणमा लापरबाही भएको गुनासो गरेका थिए। लामिछानेका अनुसार चितवनबाट बिहीबार बिहान ३:३० बजे पोखरा ल्याइएको थियो। स्वास्थ्य परीक्षणको माग गर्दा पनि चितवन प्रहरीले अस्वीकार गरेको उनले बताए।
लामिछानेले मानव अधिकार आयोगको टोलीलाई दिएको बयान अनुसार चितवन प्रहरीका केही सदस्यले मादक पदार्थ सेवन गरी दुर्व्यवहार गरेको आरोप पनि लगाएका छन्। पोखरा आइपुगेपछि उनको स्वास्थ्य परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो।
कास्की प्रहरीका अनुसार लामिछानेलाई सहारा सहकारी अपचलन मुद्दासम्बन्धी अनुसन्धानका लागि चितवनबाट पोखरा सारिएको हो। प्रहरीले नियमानुसार स्वास्थ्य परीक्षण भएको र दुर्व्यवहारका आरोप अस्वीकार गरेको छ।

