कैलालीको भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एक करोड रुपैयाँभन्दा बढी मूल्यको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का महेश सुनार रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गर्दा गरिएको जाँचमा उनीहरूबाट ६२० ग्राम सुन (मूल्य ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ), ८ किलो ९१४ ग्राम चाँदी (मूल्य १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ), ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न दरका नगद, चार थान मोबाइल सेट, र चाँदीले लेप लगाइएका भाँडाकुँडा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

