Tuesday, May 26, 2026

मौरीपालनबाट वार्षिक १२ लाख आम्दानी गर्ने उद्यमी मगर

ताजा / भरखरै प्राप्त

दाङ- घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले २४ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आइरहेका छन्। दुई सय घार क्षमताको फार्म भए पनि अहिले उनले ८६ मौरीसहितका घार सञ्चालन गरिरहेका छन्।

उनको फार्ममा युरोपिय, इटालियन, मेरीफेरा र सेरेना जातका मौरी रहेका छन्। उनी एक याममा १२ लाख रुपैयाँसम्मको मह बेच्ने गरेका छन् भने वार्षिक ३५ क्विन्टलसम्म मह उत्पादन हुन्छ। मगरले जिल्लाका बजार र अन्य ठाउँमा मह आपूर्ति गर्नुका साथै धेरैजसो ग्राहक घरमै आएर मह किनेर लैजाने बताएका छन्।

उद्यमी मगरले सुरुमा रोल्पामा तालिम लिएर व्यावसायिक मौरीपालन थालेका हुन्। वैदेशिक रोजगारीका क्रममा मौरीपालन देखेपछि नेपाल फर्केर यही व्यवसायलाई रोजेको उनले बताए। २०५७ सालमा व्यावसायिक मौरीपालन सुरु गर्दा जिल्लामा १७ जना मात्र यस व्यवसायमा आबद्ध थिए। तर, अहिले उनले आम्दानीका लागि अन्य कुनै स्रोतको आवश्यकता नपरेको बताएका छन्।

मौरीपालन सामग्रीसमेत आफैँ निर्माण गर्ने मगरले ती सामग्री रोल्पा, सल्ल्यान र प्यूठानका मौरीपालक किसानलाई उपलब्ध गराउँदै आएका छन्। नेपाल मौरीपालक महासङ्घ, दाङ शाखाले तोरी स्रोतको मह प्रतिकिलो रु ५०० र जङ्गली स्रोतको मह रु ६०० तोकेको छ।

दीपकुमार मगरको व्यवसायिक मौरीपालनले उनलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै जिल्लाका अन्य किसानलाई पनि प्रेरित गरिरहेको छ।

spot_img

लोकप्रिय

Related Articles