टीकापुर विमानस्थल मंसिर ३० गतेदेखि नियमित सञ्चालनमा आउने भएको छ। टीकापुर नगरपालिकाको पहलमा विमानस्थल पुनः सञ्चालनमा ल्याउन तारा एयर र यती एयरलाइन्ससँग सहकार्य गरिएको छ।
नगर प्रमुख रामलाल डगौरा थारुले तारा एयरसँग न्यूनतम १५ सिटको सुनिश्चितता गर्दै उडान नियमित गर्न सहमति भएको जानकारी दिए। यसले भविष्यमा व्यवसायिक उडानलाई थप व्यवस्थित बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल एयरलाइन्सले केही समयअघि परीक्षण उडान गरिसकेको र तारा एयरले पनि व्यवसायिक उडान गरिसकेको छ। हाल तारा एयरले आइतबार र बिहीबार उडान गर्ने तालिका सार्वजनिक गरेको छ। यात्रुको मागअनुसार उडान संख्या थपिनेछ।
काठमाडौंसम्मको भाडा नौ हजार र नेपालगञ्ज-टीकापुरको एकतर्फी भाडा चार हजार पाँच सय निर्धारण गरिएको छ। तारा एयरले नेपालगञ्जबाट १२:३० बजे र टीकापुरबाट १:२० बजे उडान गर्नेछ।
यती एयरलाइन्सले काठमाडौं-नेपालगञ्जका लागि बिहान १० बजे र नेपालगञ्ज-काठमाण्डौंका लागि दिउँसो २:५ बजे उडान गर्ने तालिका बनाएको छ।
हाल तारा एयरले ट्विनअटर वायुयानमार्फत लुक्ला, जोमसोम, डोल्पा, बाजुरा, जुम्ला लगायतका विमानस्थलमा नियमित तथा चार्टर उडान गर्दै आइरहेको छ।

