जापानको टोकियो महानगर सरकारले आफ्ना कर्मचारीलाई हप्तामा चार दिन मात्र काम गर्न मिल्ने योजना ल्याएको छ। अप्रिल २०२५ देखि लागू हुने यस योजनाले कर्मचारीहरूलाई बच्चा जन्माउन र हुर्काउन प्रेरित गर्ने उद्देश्य राखेको छ।
यो योजनाअन्तर्गत कर्मचारीले आफ्नो सुविधा अनुसार हप्ताको कुनै एक दिन थप बिदा लिन पाउनेछन्। हाल टोकियोमा संसारभर प्रचलित नियमअनुसार हप्तामा पाँच दिन काम गर्नुपर्ने व्यवस्था छ।
टोकियोका गभर्नर युरिको कोइकेका अनुसार बच्चा जन्माउने र हुर्काउने क्रममा कसैले पनि आफ्नो करिअरको बलि चढाउन नपरोस् भन्ने सोचले काम गर्ने शैली परिवर्तन गर्न यो निर्णय गरिएको हो। लामो समयदेखि महिला सशक्तिकरणमा जापान विश्वका अन्य देशहरूभन्दा धेरै पछि रहेको तथ्यलाई पनि उनले उल्लेख गरिन्।
जापानमा जनसंख्या लगातार १५ वर्षदेखि घटिरहेको छ। २०१२ देखि २०२२ सम्मको अवधिमा टोकियोको जन्मदर १५ प्रतिशतले घटेको तथ्यांक छ। यस योजनाले केही हदसम्म जन्मदर बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूका अनुसार, एक महिलाले जीवनकालमा औसत २.१ बच्चा जन्माउनुपर्ने (रिप्लेसमेन्ट रेट) हुन्छ। तर विकसित देशहरूमा महिलाहरूले शिक्षित र जागिरे भएपछि विवाह ढिलो गर्ने, बच्चा नै नजन्माउने, वा एउटा मात्र बच्चा जन्माउने प्रवृत्ति बढिरहेको छ।
जन्मदर घट्दा काम गर्नसक्ने जनसंख्याको संख्या घट्ने र पेन्सन खाने वृद्धहरूको संख्या बढ्ने हुँदा आर्थिक विकासमा नकारात्मक असर पर्ने अर्थविद्हरू बताउँछन्।
त्यसैले धेरै विकसित देशहरूले जन्मदर बढाउनका लागि सुत्केरी बिदा बढाउने, पुरूषलाई पनि बिदा दिने, चाइल्ड केयर सुधार्ने र एकभन्दा बढी बच्चा जन्माउनेलाई कर छुटजस्ता प्रोत्साहन योजना अघि सारेका छन्।
टोकियोको यो नयाँ निर्णयले अन्य स्थानीय सरकारलाई पनि यस्तै कदम चाल्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

