Tuesday, May 26, 2026

एनपीएलमा लुम्बिनी लायन्स : रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ

ताजा / भरखरै प्राप्त

काठमाण्डाै – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सको यात्रा सकिएको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो ।

कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे । तर त्यो टिमको जितका लागि पर्याप्त भएन । लिग चरणका सात वटै खेल खेलेका कप्तान पौडेलले प्रतियोगितामा अहिलेसम्म सर्वाधिक दुई सय ७९ रन बनाउनुका साथै आठ विकेट लिँदै आफूलाई उत्कृष्ट सावित गरे पनि त्यतिले मात्रै टोलीलाई शीर्ष चारमा पुर्‍याउन पर्याप्त भएन । लुम्बिनी लायन्सले सात खेलमा एउटा जितमा मात्रै चित्त बुझाउनुपर्‍याे । लुम्बिनीले २ अङ्कसहित तालिकाकाे पुछारमा रहँदै प्रतियाेगिता सकायाे ।

हारको सिलसिला शुरूदेखि अन्तिमसम्मै

लुम्बिनीको हारको शुरुआत पहिलो खेलदेखि नै भयो । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भयो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले हार्‍याे । तेस्रो खेलमा सुदूरपश्चिम राेयल्ससँग ४५ रनले हार्दा चौथो खेलमा पनि जनकपुर बाेल्ट्ससँग एक रनले पराजित भएको थियो ।

पाँचौं खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको थियो । तर छैटौं खेलमा काठमाण्डाै गुर्खाजसँग १८ रनले पराजित भएपछि एनपीएलबाट बाहिरिने पहिलो टोली बन्न पुग्यो । लुम्बिनी अन्तिम खेलमा कर्णाली याक्ससँग पाँच रनले पराजित भयो ।

चलेनन् विदेशी खेलाडी

लुम्बिनीले अस्ट्रेलियन अलराउन्डर बेन कटिङ्ग, इङ्ग्ल्यान्डका विकेटकीपर तथा ब्याटर टम मूर्स, बार्बाडियन तीव्र गतिका बलर रामोन सिमन्ड्स, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द र क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउन्डर साद बिन जफरलाई भित्र्याएको थियो ।

लुम्बिनीमा अनुभवी खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा थियो । तर केही विदेशी खेलाडीले मध्यम प्रदर्शन गरे पनि केही खेलाडी भने चल्नै सकेनन् । लुम्बिनीको सबैभन्दा आशा गरिएका खेलाडी थिए, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द । चन्दको कप्तानीमा भारतले सन् २०१२ को १९ वर्षमुनिकाे विश्वकपको उपाधि हात पारेको थियो । उनी आईपीएल स्टार समेत हुन् । तर एनपीएलमा उन्मुक्त चल्नै सकेनन् ।

लुम्बिनीबाट उन्मुक्तले चार वटा खेल खेले । पोखरासँगकाे खेलमा उनी शून्य रनमै आउट भए । सुदूरपश्चिमसँगको खेलमा पनि उनी चल्न सकेनन् । चार रन बनाएर आउट हुन पुगे । चितवनसँगकाे खेलमा पनि शून्य रनमै आउट भएका उन्मुक्तले काठमाण्डाै गुर्खाजसँगकाे खेलमा भने १४ रन बनाए । एनपीएलका चार वटा खेलमा उन्मुक्तले १८ रनमात्रै बनाए ।

अस्ट्रेलियन अलराउन्डर बेन कटिङले पनि लुम्बिनीलाई खासै राम्रो योगदान दिन सकेनन् । एनपीएलमा लुम्बिनीका तर्फबाट तीन खेल खेलेका कटिङले जम्मा १० रनमात्रै जोडे । ३७ वर्षीय दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलर कटिङ सहभागी सनराइजर्स हैदराबादले सन् २०१६ काे इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जिते पनि एनपीएलमा उनको प्रदर्शन निराशाजनक नै रह्यो ।

लुम्बिनीको तर्फबाट खेल्ने विदेशी खेलाडीमध्ये इङ्ग्ल्यान्डका विकेटकीपर तथा ब्याटर टम मूर्सले भने केही योगदान गरे । लुम्बिनीबाट सात वटै खेल खेलका उनले एक सय ६५ रन बनाए ।

यस्तै क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनीका लागि सात वटै खेल खेले । सात वटा खेलबाट ८३ रन बनाएका उनले नौ विकेट लिए ।

बार्बाडियन तीव्र गतिका बलर रामोन सिमन्ड्सको प्रदर्शन पनि मध्यम नै रह्यो । सात वटै खेल खेलेका उनले ६ रन बनाउँदै ९ विकेट लिए ।

स्वदेशी खेलाडीको प्रदर्शन

लुम्बिनीका कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेलले एनपीएलका लिग चरणका सात वटै खेल खेले । उनले सात वटा खेलबाट २ सय ७९ रन बनाउनुका साथै ८ विकेट लिए । उनले एनपीएलमा सर्वाधिक ९५ रन बनाउँदै दुई वटा अर्धशतक प्रहार गरे ।

लुम्बिनीबाट सात वटै खेल खेल्ने अर्का स्वदेशी खेलाडी हुन्, सन्दीप जोरा । उनले सात वटा खेलबाट १ सय २० रन बनाउँदै १ विकेट लिए ।

६ वटा खेल खेलेका अर्जुन साउदले ६८ रन जोडे । विवेक यादवले ६ खेलबाट १ सय रन बनाउँदै ३ विकेट लिए । उनले एक अर्धशतक पनि प्रहार गरेका थिए । टोलीका लागि ६ वटा खेल खेलेका आशुतोष घिरैयाले ४४ रन जोडे ।

साथै पाँच वटा खेल खेलेका दुर्गेश गुप्ताले ५ रन बनाउँदै ३ विकेट लिए भने चार खेल खेलेका सूर्य तामाङले १८ रन जोड्दै १ विकेट लिए । यस्तै चार खेल नै खेलेका अभिषेक गौतमले ६ विकेट लिए ।

लुम्बिनीबाट दिनेश अधिकारीले दुई खेल खेल्दै १४ रन जोडे । लुम्बिनीबाट तिलक भण्डारी र विकास आग्रीले एक/एक खेल खेले । जसमा भण्डारीले ३ रन बनाउँदै ३ विकेट लिए । यस्तै आग्रीले ३ विकेट लिए ।

रोहितको एक्लो प्रयास

लुम्बिनी लायन्सका लागि कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेलको योगदान भने प्रशंसनीय नै रह्यो । एनपीएलमा विराटनगरसँगकाे पहिलाे खेलमा कप्तान पौडेलले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाए । याे खेलमा उनले बलिङ गरेनन् ।

रोहितले पाेखरासँगकाे दोस्रो खेलमा ५९ बल खेल्ने क्रममा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाए । सुदूरपश्चिमसँगकाे तेस्रो खेलमा उनले ५ रन बनाउँदै १ विकेट लिए । जनकपुरसँगकाे चौथो खेलमा उनले ३५ रन बनाउँदै २ विकेट लिए ।

चितवनसँगकाे पाँचाैं खेलमा राेहितले ५७ बलमा पाँच चौका र ६ छक्काको मद्दतमा ८० रन जाेड्दै ४ विकेट लिए । याे खेल लुम्बिनीले जित्याे ।

छैटौं खेल र सातौं खेलमा भने उनी चल्न सकेनन् । काठमाण्डाैसँगकाे खेलमा राेहित ८ रन मात्रै बनाए । यस्तै कर्णालीसँगकाे खेलमा १० रनमै आउट भएका रोहितले १ विकेट लिए ।

पौडेल एनपीएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन् । उनले सात खेलबाट २ सय ७९ रन बनाएका छन् । रोहितले एनपीएलमा ११ छक्का र २६ चौका प्रहार गरेका छन् ।

spot_img

लोकप्रिय

Related Articles