3 को नियम भन्ने चर्चा धेरै ठाउँमा सुनिन्छ। यो नियमले बताउँछ कि सामान्यतया मानिस हावा (अक्सिजन) बिना ३ मिनेट बाँच्न सक्छ, पानी बिना ३ दिन र खान बिना ३ हप्ता बाँच्न सक्छ। यद्यपि यो सबै व्यक्तिमा लागू नहुन सक्छ।
अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित एक अनुसन्धानले देखाएको छ कि कुनै पनि व्यक्ति पानी बिना ५–6 दिनभन्दा बढी बाँच्न सक्दैन। अस्ट्रियाका १८ वर्षीय युवकले १८ दिनसम्म बिना पानी र खाना बाँचेर रेकर्ड बनाएका थिए, यद्यपि त्यो अवस्थामा उनी लगभग मृत्युको नजिक पुगेका थिए।
दिनमा कति पानी पिउनुपर्छ?
अहिले स्वास्थ्यप्रति सचेतना बढेसँगै मानिसहरू दिनमा कति पानी पिउनुपर्छ भन्ने विषयमा गम्भीर हुँदै गएका छन्। सामाजिक सञ्जाल जस्तै टिकटक र इन्स्टाग्राममा पनि दिनमा यति लिटर पानी पिउनुपर्छ भन्ने सामग्रीले लोकप्रियता पाएको छ। यसले यो प्रश्न कति महत्वपूर्ण छ भन्ने प्रमाणित गर्छ।
पोषण विज्ञहरूका अनुसार पानी पिउनु भनेको शरीरलाई आराम दिनु हो। हाम्रो शरीर निरन्तर काम गरिरहन्छ, जसरी कुनै मेसिनलाई लामो समय चलाउन विश्राम आवश्यक हुन्छ, त्यस्तै शरीरका अंगलाई पनि आरामको आवश्यकता पर्छ। पानी पिउँदा शरीरलाई आवश्यक विश्राम मिल्छ, फोहोर पदार्थ हटाउन मद्दत गर्दछ र तापक्रम तथा रक्तचाप नियन्त्रणमा राख्छ।
दिनभरि कस्तो तरिकाले पानी पिउने?
प्यास लाग्दा वा गर्मी हुँदा मात्र होइन, सामान्य अवस्थामा पनि पानी पिउनु आवश्यक छ। एकैचोटि धेरै पानी पिउनुभन्दा सन्तुलित तरिकाले दिनभरि थोरै-थोरै पिउनु लाभदायक हुन्छ। अमेरिकाको नेसनल एकेडेमी अफ मेडिसिनले गरेको २००४ को अध्ययनअनुसार, सामान्य पुरुषले दिनको ३ लिटर र महिलाले २.२ लिटर पानी पिउनु राम्रो हुन्छ। यो आवश्यकता व्यक्तिअनुसार फरक हुन सक्छ।
पानीको आवश्यकता किन फरक हुन्छ?
शारीरिक परिश्रम, मौसम र शारीरिक संरचनाले पनि शरीरलाई चाहिने पानीको मात्रा निर्धारण गर्छ। शारीरिक गतिविधि धेरै गर्ने वा व्यायाम गर्ने व्यक्तिलाई दिनको ३ लिटरभन्दा बढी पानी चाहिन्छ। गर्मी ठाउँमा बस्ने व्यक्तिले बढी पसिना आउँदा बढी पानी पिउनुपर्छ। गर्भवती वा स्तनपान गराइरहेका महिलाले पनि बढी पानी पिउनुपर्ने हुन्छ।
डा. सिद्धार्थ शाहका अनुसार, उमेर बढ्दै जाँदा मासंपेसी घटेर बोसोको मात्रा बढ्न सक्छ, जसले गर्दा शरीरलाई चाहिने पानीको मात्रा फरक पर्छ। वृद्ध व्यक्तिहरूले तिर्खा महसुस गर्न कम सक्छन्, जसले गर्दा उनीहरू पर्याप्त पानी नपिउने सम्भावना हुन्छ।
पानीको कमीका संकेतहरू
शरीरमा पानीको कमी भएको विभिन्न संकेत देखिन सक्छन्—जस्तै, छाला खस्रो हुनु, टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा सुख्खा हुने आदि। राति पर्याप्त पानी नपिएको खण्डमा बिहान शरीरमा पानीको कमी देखिन सक्छ।
चिया वा कफीले शरीरलाई पानीको मात्रा पूरा गर्छ भन्ने सोच गलत हो। यस्ता पेयले उल्टै शरीरमा भएको पानी सोस्छन्। कार्बोनेटेड ड्रिंक वा सोडालाई पानीको विकल्प ठान्नु पनि हानिकारक हुन्छ।
धेरै पानी पिउँदा हुने असर
अत्यधिक पानी पिउनु पनि हानिकारक हो। एकैचोटि धेरै पानी पिउँदा शरीरमा सोडियम र पोटासियम असन्तुलन हुने खतरा रहन्छ। डा. रबिन बस्नेतका अनुसार, सामान्य व्यक्तिले दिनमा ३ लिटर पानी पिउनुपर्छ, तर यो दिनभरि सन्तुलित मात्रामा पिउनु पर्छ।
एकैचोटि धेरै पानी पिउँदा मिर्गौलालाई अनावश्यक दबाब पर्न सक्छ र यसले अन्य समस्याहरू निम्त्याउन सक्छ। शरीरको आवश्यकताअनुसार पानीको मात्रा मिलाएर पिउनु स्वास्थ्यको लागि उत्तम हुन्छ।

