काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १.६३ मेगावाट क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण कार्य तीव्रगतिमा अगाडि बढिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्मको २१ किलोमिटर सडक निर्माण भइरहेको छ।
भोटखोला गाउँपालिका–४ गोलाबजार नजिकको छोङराङमा प्रस्तावित विद्युत्गृहबाट सोही गाउँपालिका–२ चेपुवा गाउँ नजिकको बाँधस्थलसम्म पुग्ने सडक निर्माणाधीन छ। छोङराङसम्म कोशी राजमार्ग पुगेको छ भने अरूण नदीमा ७० मिटर लम्बाइ भएको स्टिल आर्क पुल निर्माण भइरहेको छ।
आयोजनाको कठिन भूगोलका कारण निर्माण उपकरण तथा सामग्रीहरू हेलिकप्टरमार्फत ढुवानी गरिएका छन्। हालसम्म ३०० भन्दा बढी पटक हेलिकप्टर प्रयोग गरी उपकरण र सामग्री पुर्याइएको प्राधिकरणले जनाएको छ।
आयोजनाको अनुगमनका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालसम्मको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माण कार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्। साथै, प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशीले वन क्षेत्रको जग्गा उपभोग र रुख कटानी स्वीकृति भइसकेकाले निर्माण कार्यमा कुनै समस्या नरहेको बताए।
यो आयोजना निजी र सहुलियतपूर्ण ऋणसहित समिश्रित लगानी (ब्लेन्डेड फाइनान्सिङ) मोडेलमा निर्माण गरिँदै छ। २०८२ माघभित्र पहुँचमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने आयोजनाको मुख्य निर्माण कार्य सन् २०२६ मा सुरु गरी सन् २०३१ सम्म सम्पन्न गरिनेछ। आयोजनाले वार्षिक ४.५३ अर्ब युनिट ऊर्जा उत्पादन गर्नेछ, जसको ३० प्रतिशत हिउँदमा उपलब्ध हुनेछ।

