Tuesday, May 26, 2026

अर्थ समितिको बैठक फेरि कोरम अभावकै कारण स्थगित

ताजा / भरखरै प्राप्त

काठमाडौँ – सोमबार तय भएको अर्थ समितिको बैठकमा ‘सुरक्षित कारोबार ऐन २०६३’ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। बिहान ११ बजेका लागि बैठक बोलाइएको भए पनि निर्धारित समयसम्म सांसदहरूको न्यून उपस्थिति देखियो।

बैठक सुरु हुँदा समितिका जम्मा नौ सदस्य मात्र उपस्थित थिए, भने बैठक सञ्चालनका लागि आवश्यक १२ सदस्यको कोरम पुग्न सकेन। कोरम नपुग्दा पनि सभापति सन्तोष चालिसेले बैठक अघि बढाउने प्रयास गरे तर केही सांसदले नियम विपरीत बैठक राख्न नहुने अडान लिए।

सांसद गङ्गा कार्कीले कोरम नपुगी बैठक सञ्चालन गर्नु कार्यविधि विपरीत भएको भन्दै आपत्ति जनाए। सभापति चालिसेले एक जना बाटोमै रहेको र कोरम पुग्ने आशा व्यक्त गरे पनि आवश्यक संख्या पुग्न सकेन।

सांसद सूर्यबहादुर थापाले कार्यविधि अनुसार आधा घण्टा कुर्दा पनि कोरम नपुगे बैठक स्थगित गर्नु पर्ने स्पष्ट रूपमा उल्लेख भएको बताए। उनले अनुपस्थित सांसदहरूको कारण कार्यसूची अघि बढ्न नसकेको तथ्य बैठकले टिपोटमा राख्नुपर्ने धारणा व्यक्त गरे।

यसरी करिब एक घण्टासम्म कोरम पूरा नहुँदा अर्थ समितिको बैठक स्थगित गर्नुपर्‍यो। समितिका सभापति चालिसेले पछिल्लो समय बारम्बार कोरम नपुग्ने समस्या देखिएको भन्दै यसले विधेयकमा छलफल गर्न अवरोध पुर्‍याएको बताए। उनले समितिमा पाँच वटा विधेयक दर्ता भए पनि सांसदहरूको अनुपस्थितिले बारम्बार छलफल स्थगित गर्नु परेको गुनासो गरे।

समितिको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

spot_img

लोकप्रिय

Related Articles