सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि गठन गरिएको समिति बिघटन भएको छ। समितिले आइतबार र सोमबार पदाधिकारी सिफारिस गर्न प्रयास गरे पनि सहमति हुन नसक्दा समिति नै विघटन भएको प्रवक्ता खम्मबहादुर खातीले जानकारी दिए।
अब मन्त्रिपरिषद्ले नयाँ सिफारिस समिति गठन गर्नुपर्नेछ। नयाँ समितिले फेरि आवेदन आह्वान गरेर नियुक्ति प्रक्रिया अघि बढाउनु पर्नेछ। ऐनअनुसार सोमबारसम्म सिफारिस गर्नुपर्ने समयसीमाभित्र वर्तमान समितिले पदाधिकारी सिफारिस गर्न सकेन।
२ कात्तिकमा गठन भएको समितिमा १५८ जनाको आवेदन परेकामा ४० जनालाई सर्टलिस्ट गरिएको थियो। दुबै आयोगका दुई अध्यक्षका लागि आठ र आठ सदस्यका लागि ३२ जना सर्टलिस्टमा परेका थिए।
समितिको संयोजकत्वमा रहेका सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले ६० दिनको समयावधिभित्र पदाधिकारी चयन गर्न नसकेको हो। संक्रमणकालीन न्यायसम्बन्धी यी दुई आयोग २०७९ साउनदेखि पदाधिकारीविहीन छन्।
२३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएको थियो। आवेदन दिने म्याद मंसिर ४ गते सकिएको थियो। ८९ आवेदन व्यक्तिहरू आफैं उपस्थित भएर दिएका थिए, २० आवेदन अनलाइनमार्फत् र ४७ संघसंस्थामार्फत् प्राप्त भएका थिए।
सम्बन्धित व्यक्तिको सहमतिसहित २० र सहमति नलिई २७ आवेदन संघसंस्थाबाट परेका थिए। सर्च कमिटीले मंसिर २२ गते ४० जनाको सर्टलिस्ट सार्वजनिक गरे पनि अन्ततः सहमति अभावका कारण समिति नै बिघटन भयो।

