भैरहवा । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दावी गरेका छन् । आज (मंगलबार) लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्टिलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिलेको गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताए ।
उनले भने, ‘२०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै तल माथि हुन्न ।’ लेखकले अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको बताए । संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्ने गृहमन्त्री लेखकले बताएका छन् ।
गृहमन्त्री लेखकले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको बताएका छन् । उनले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध रहेको उनले बताए ।
समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको उनले बताए । गृहमन्त्री लेखकले कानूनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको बताए । उनले लुम्विनी प्रदेश बुद्ध जन्मस्थलका कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो र विश्व शान्तिको मुहान भएकाले लुम्बिनी प्रदेशको सुरक्षा व्यवस्था चुस्त र भरपर्दो हुनुपर्ने बताए ।

