Tuesday, May 26, 2026

साञ्जेन जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरू

ताजा / भरखरै प्राप्त

काठमाण्डौ – चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर हिजो बेलुकादेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।

साञ्जेन जलविद्युत् आयोजनाले गएको मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङमाे गाउँपालिका–५ मा निर्माण भएको यस आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ ।

सबै प्राविधिक परीक्षण सम्पन्न गरी त्यतिबेलै पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा हिजोदेखि व्यावसायिक रूपमा उपलब्ध गराइएको आयोजनाका सब–इञ्जिनियर रविन कोइरालाले जानकारी दिनुभयो ।

‘क्यास्केड मोडल’ मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजनाले वि.सं. २०८० भदौ मसान्तमा सम्पन्न गरी वि.सं. २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो ।

आयाेजनाले ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारिक रूपमा बिजुली प्रवाह गरिरहेको थियो । यस आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैंले आठ किलोमिटर ११ केभी डबल सर्किट प्रसारण लाइन तथा १३२/११ केभी सबस्टेशन निर्माण गरेको थियो ।

साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादनसँगै बिजुली बढी माग हुने हिउँदका महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान हुने विश्वास लिइएको छ ।

spot_img

लोकप्रिय

Related Articles