बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ को कियासोती खोलामा एक तीन वर्षिया बालकको शव फेला परेको छ ।
वीरगञ्ज महानगरपालिका ३२ र जितपुरसिमरा उपमहानगरपालिका ७ को सिमानामा पर्ने टेढा स्थित कियासोती खोलामा डुबेको अवस्थामा फेला परेको शव रौतहटको दुर्गा भवानी गाउँपालिका १ का तीन वर्षीय अन्श चौधरीको रहेको प्रहरीले जनाएको छ । फेला परेको शव बिगत १० दिन देखि हराईरहेको बालकको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए ।
बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो । घटनाले जितपुर सिमरा सिङ्गो नगर शोकमय वातावरण बनेको छ । आफ्नो मामाघरबाट बेपत्ता बालक बारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । त्यसैगरी बारा संसदीय क्षेत्र ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसान ले बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसलाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिनेसमेत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भएपनि पोस्टमार्टम रिपोर्ट आएपछि विस्तृत खुल्ने जानकारी दिएका छन्। जीतपुर स्थित शान्ति टोल मामाघर बाट १० दिन अघि गत बिहीबारदेखि बालक अंश चौधरी बेपत्ता भएको र शनिवार खोजीकै क्रममा बालक चौधरीको शव पानिमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक बालक रौतहट दुर्गा भगवती–१ का रितेश जैसवालका छोरा थिए। उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ । यता बालक अंश चौधरीका परिवारले अंशले हुडी लगाएको तर शव भेटिएको बेला हुडी नरहेको हुनाले कसैले हत्या गरेर शव पानीमा फालेको आशंका गरेको छ ।

