Tuesday, May 26, 2026

पत्रकारको कार्ड प्रयोग गरी व्यापारी तर्साउने पर्साका सर्राफ पक्राउ, भिडियो डिलिट गर्न २ लाखको थियो डिमाण्ड

ताजा / भरखरै प्राप्त

बाराको विभिन्न नाकामा गएर पत्रकारको कार्ड देखाएर व्यापारीलाई तर्साई पैसा असुली गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।

विभिन्न मिडियाको कार्ड प्रयोग गरी दिनभरी बारा र पर्साको नाकामा डुलिरह्ने पर्सा वीरगंज महानगरपालिका वडा १० घडिअर्वा घर भई हाल वडा नम्बर १६ नगवा टोलमा बस्ने अन्दाजी ४५ वर्षीय विष्णु सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।

पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गरेको जाहेरीको आधारमा प्रहरीले सर्राफ लाई प्रसौनी गाउँपालिका वडा नम्बर ३ गण्डक चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका सर्राफमाथि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभएको छ ।

यसरी परेको थियो उजुरी
गत चैत १९ गते मंगलबारका दिन कलैयामा किराना सामानको व्यवसाय संचालन गर्ने व्यापारी दिपक दास भारतमा रहेका नातेदार कहाँ आफ्ना परिवारका सदस्यलाई पुर्याउन आफ्नो निजि स्काँरपियो गाडि लिएर जाँदै थिए । उता बाट फर्किने क्रममा गाडी खाली आउने भएर घराएसी प्रयोजनको लागि केहि सामान लिएर आउने भनेर दासले बाराको तीनवटै सुरक्षा निकायका प्रमुखलाई जानकारी गराएर कवही नाका भएर गएका थिए ।

जानकारी गराए अनुसार नै भारतबाट फर्किने क्रममा दासले २८ हजार बराबरको खाद्यान्नको सामान खरिद गरे र गाडिमा हालेर बोर्डरमा आए र त्यहाँ डियूटीमा भएका भारत र नेपाल दुबै देशका सुरक्षाकर्मिलाई सामान चेक गराएर कलैया तिर लागे । संतगज नाका कटेपछि कवही चौकमा गाडीमा बसेका दास संग एकजना सुरक्षाकर्मीले कलैयासम्म पुर्याईदिनको लागि सहयोग मागे गाडी खाली भएकै कारण उक्त सुरक्षाकर्मीलाई दासले सजिलै सहयोग गरे र आफ्नो गाडीमा बसाए अनि कलैयातर्फ हिंडेका थिए ।

कलैया पुग्नै लाग्दा पर्साटोल नजिक रहेको करणराज होटलको नजिक फिल्मी स्टाईलमा पछाडीबाट हुंइकिदै आएको भारतीय नम्बरको एउटा कारले दास बसेको गाडीलाई अगाडीबाट रोक्यो र भिडियो बनाउन थाल्यो । यो सब घट्नाक्रम देखेर गाडीबाट आर्लेर दासले किन भिडियो गरेको ? तपाईहरु को हो ? भनेर प्रश्न गरेका थिए त्यसपछि गाडीमा बसेका विष्णु सर्राफ र संजय कुशवाहाले आफु पत्रकार हो यो तस्करीको सामान हो हामिलाई थाहा छ भन्दै पैसा दिनुस नभए भिडियो सार्वजनिक गर्दिन्छु भन्न थाले ।

करिब साँझको ७ बजेको समयमा दुबैजनालै पैसा नदिए फेसबुकमा भिडियो भाइरल बनाईदिन्छु भनेर दासलाई तर्साउन थाले । उनले पटक पटक यो मेरो घरको सामान हो , मैले कुनै तस्करी गरेको छैन् , कोहि ५५ लाखको गाडी तस्करीको लागि प्रयोग गर्छन किन कुरा नबुझेको, यो सामान सबै सुरक्षाकर्मिलाई चेकजाँच गराएर ल्याएको छु भन्दा पनि दुबैजनाले यो भिडियो डिआईजीलाई पठाउँछु, भाइरल गर्दिन्छु भन्दै तर्साई रहे ।

भिडियो समाजिक सञ्जालमा राखेपछि ईज्जत जाने डरका कारण दासले दुबैजनालाई बसेर कुरा गरौ भने त्यसपछि खाजा खाने गरी तिनैजना कलैयामा रहेको रोजमेरी होटेलमा पुगेका थिए । त्यहाँ गएर सन्जय कुशवाहाले घरमा छठ छ मासु खादिनौ भनेर त्यसबापत नगदमै कुरा मिलाउ भन्यो ।

भनिन्छ नि “मरता क्या नहि करता” भनेझै दासले खाजा खानको लागि दुबैजनालाई १० हजार रुपैया दिएर विदा गरेका थिए । त्यसपछि संजय कुशवाहाले त्यसको भोलिपल्ट अर्थात चैत २० गते बिहान फोन गरेर भिडियो डिलिट गराउनु छ भने तपाई वीरगंज आउनुस भेट्न भन्दै वीरगंज बोलाए ।

वीरगंज भानुचोकको एक पान पसलमा बसिरहेका दुबैजना मध्ये सन्जय कुशवाहाले भिडियो डिलिट गराउनु छ भने उता साइडमा गएर विष्णु दाई सित कुरा मिलाई हाल्नु नभए ठिक हुँदैन भनेर फेरी तर्साउन थाले । त्यसपछि रिसाउँदै दासले कुशवाहालाई कस्तो पत्रकार हो तपाई हामि त आफ्नो ईज्जतको डरले तपाईलाई खाजा खर्च दिए र अब मलाई ब्लैकमेल गर्न थाल्नु भयो भनेर सम्झाउने प्रयास गरे तर कुशवाहाले गएर कुरा मिलाउनुस नभए भिडियो भाइरल हुन्छ भन्दै जवाफ फर्काएका थिए ।

त्यसपछि दासले विष्णु सर्राफलाई कसरी कुरा मिल्छ भनेर सोधे अनि सर्राफले २ लाख रुपैयाको डिमाण्ड गरेका थिए । २ लाखको डिमाण्ड सुन्ने बितिकै दासले “म कुनै तस्कर हैन कि तपाईलाई म यती पैसा दिन्छु बरु भन्नु हुन्छ भने धेरथोर खल्तीमा पैसा छ त्यो लिएर मलाई जानदिनुस” भने तैपनि कुशवाहा र सर्राफ २ लाखको अडानमै बसे त्यसपछि दासले आफुसंग रहेको १५ हजार रुपैया सर्राफको खल्तीमा हालेर अब तपाईहरुलाई जे मन छ त्यो गर्नुस भनेर हिडेका थिए ।

नभन्दै त्यहीं २० गतेको दिन अग्निपथ मिडियाको फेसबुक अकाउण्ट बाट त्यो भिडियो बाहिरीएको थियो । भिडियो समाजिक सञ्जालमा देखेपछि दासले बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सम्पूर्ण घट्नाको बारेमा जानकारी गराए । जानकारी गराएपछि प्रहरीकै सहयोगमा चैत २४ गतेको दिन पत्रकार भन्दै पैसा असुली गर्ने  विष्णु सर्राफ र संजय कुशवाहा माथि दासले किटानी जाहेरी दिएका छन् ।

जाहेरीको अनुसन्धानको क्रममा प्रहरीले विष्णु सर्राफलाई पक्राउ गरेको छ भने कुशवाहा अहिले फरार भएका छन् ।

पक्राउ परेपछि अहिले दासलाई कलैयामा रहेका सर्राफका आफन्तहरुले मुद्दा फिर्ता लिन दबाव बनाउन थालेका छन् जसमा पूर्व जनप्रतिनिधि पनी रहेका छन् ।

spot_img

लोकप्रिय

Related Articles