बैशाख ३१,रौतहट । रौतहटको बौधिमाई नगरपालिकामा सञ्चालनमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरू कानुनी मान्यता विना सञ्चालन भइरहेको पाइएको छ।
कानुनी मान्यता विपरीत संचालनमा रहेका स्वास्थ्य संस्थाहरूले भने ठूला ठूला होर्डिङ बोर्ड लगाएर नागरिकको स्वास्थ्य संग खेलवाड गरिरहेको पाईएको छ । यहाँ संचालनमा रहेका बिना दर्ता, बिना योग्य चिकित्सक सहतिको अस्पतालहरुले भने सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्दै आएका छन् ।
स्थानीय तहको स्वास्थ्य नियमनको अभावमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा गम्भीर लापरवाही हुँदै आएको छ। कतिपय संस्थामा बिना कुनै रजिस्ट्रेसन तथा शैक्षिक योग्यता नभएका व्यक्ति ‘डाक्टर’को नाममा विरामीको उपचारमा खटिएको पुष्टि भएको छ।
बौधिमाई नगरपालिकाको स्वास्थ्य शाखाले करिब दुई महिनाअघि यस्ता अवैध र त्रुटिपूर्ण अस्पतालहरूको नाम सार्वजनिक गर्दै आफ्नो आधिकारिक फेसबुक पेजमा जानकारी राखे पनि त्यसपछि कुनै ठोस कारबाही अगाडि बढाएको देखिएको छैन।
यसैबीच, अवैध अस्पतालहरूले जनताको स्वास्थ्य, समय र पैसासँग खेलबाड गरिरहँदा स्थानीय स्वास्थ्य शाखा र सम्बन्धित सरकारी निकायहरु मौन देखिएका छन्। यसले नगरवासीहरूलाई थप स्वास्थ्य जोखिममा पारेको छ।
दर्ता विना संचालनमा रहेका यस्ता अवैध स्वास्थ्य संस्थाहरुमाथि निगरानी बढाउन स्थानीयहरुले माग गरेका छन् ।

