Tuesday, May 26, 2026

साइट इन्जिनियरको लापरवाही र ठेकेदारको मनपरीले बारामा गुणस्तरहीन निर्माण बढ्दो

ताजा / भरखरै प्राप्त

असार ०७, बारा । मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट बारामा सञ्चालित १ सय ७७ वटा योजना अहिले गुणस्तरको संकटमा परेको छ । योजनाको नियमित अनुगमन, प्राविधिक निरीक्षण र प्रगति मूल्याङ्कनमा खटेका साइट इन्जिनियरहरूकै लापरवाही र ठेकेदार–उपभोक्ता समितिको मनपरीका कारण करोडौंको लगानी जोखिममा परेको छ।

पूर्वाधार विकास कार्यालय बाराले प्रत्येक योजना अन्तर्गत साइट इन्जिनियर तोकेको भए पनि अधिकांश इन्जिनियर योजनास्थलमा पुग्दैनन् । केहीले मोबाइल वा म्यासेन्जरमै प्राविधिक परामर्श दिएको देखिए पनि अधिकांश इन्जिनियर कागजी उपस्थिति देखाएर दैनिक भत्ता, भ्रमण भत्ता र जिम्मेवारी पूरा भएको भनी प्रतिवेदन बुझाइरहेका छन् ।

स्थानीय शंकर दासले दिएको उदाहरण अनुसार फेटा गाउँपालिकाको वडा नम्बर १ र २ लाई जोड्ने एकवनिया सडक निर्माणमा माटो भरिनुपर्ने स्थानमा सिधै ग्राभेल हालिएको छ । त्यो ग्राभेल पनि प्राविधिक मापदण्ड अनुसार नभई ठूलाठूला बोल्डर सहितको प्रयोग भएको छ। यस्ता गतिविधि साइट इन्जिनियर राजेश साह र दिपेन्द्र साहको निरीक्षण नहुँदा सम्भव भएको स्थानीयको भनाइ छ।

थुप्रै योजनाहरूमा उपभोक्ता समितिहरूले कुनै प्राविधिक सल्लाहबिना निर्माण अघि बढाएका छन् । सुरुमा तयार पारिएको डिजाइन र इस्टिमेटको पालना नगरिएको देखिन्छ । अनियमित सामग्री प्रयोग, कामको सतही ढंग, र गुणस्तर परीक्षण नहुनु योजनाहरूको साझा समस्या बनिरहेको छ।

गुनासो यथेष्ट भए पनि न त पूर्वाधार विकास कार्यालय बाराले कारबाही अघि सारेको छ, न त मधेश प्रदेश सरकारले यस्ता गतिविधिको छानबिन नै थालेको छ। उल्टो, साइट इन्जिनियरहरूकै मौन सहमति वा प्रत्यक्ष संलग्नतामा ठेकेदारहरूले आफू अनुकूल निर्माणको गति लिएका छन् ।

त्यस्तै अर्का साईट इन्जिनियर रामसेवक यादवले पनि आफ्ना भागमा परेका योजनाहरुको निरीक्षण गर्दैनन् उनी सिधै पाँच प्रतिशत कमिशनको आधारमा योजनाहरुको बिल भर्पाई बनाउने गरेको उपभोक्ता समितिहरुको आरोप रहेको छ ।

तर इन्जिनियर यादवले भने आरोपको खण्डन गरेका छन् उनले आफ्ना योजनाहरुलाई देउता मानेर काम गरिरहेको प्रतिक्रिया दिएका छन् ।

spot_img

लोकप्रिय

Related Articles