Tuesday, May 26, 2026

महागढीमाई नगरपालिकाको ८१ करोड बढीको बजेट सार्वजनिक, गढीमाई क्षेत्रको विकासलाई विशेष प्राथमिकता

ताजा / भरखरै प्राप्त

असार ०९, बारा । बाराको महागढीमाई नगरपालिकाको सोमबार सम्पन्न ९ औं नगरसभाबाट आगामी आर्थिक वर्षका लागि ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । बजेटमा गढीमाई क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिँदै स्थानीय आवश्यकता र सम्भावनाका आधारमा नीति तथा कार्यक्रम तय गरिएको छ ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवले नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम औपचारिक रूपमा प्रस्तुत गर्दै नगरपालिकाले दिगो, समावेशी र सहभागितामूलक विकासलाई केन्द्रमा राखेको उल्लेख गर्नुभयो। उहाँले प्रस्तुत गर्नुभएको नीतिगत दस्तावेजमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र सामाजिक सुरक्षा क्षेत्रलाई प्राथमिक क्षेत्रका रूपमा समेटिएको छ ।

बजेटमा गढीमाई धार्मिक–सांस्कृतिक क्षेत्रको संरक्षण, पूर्वाधार विस्तार तथा पर्यटन प्रबर्द्धनका लागि विशेष योजना प्रस्तुत गरिएको छ । नगर प्रमुख यादवका अनुसार गढीमाई मेला क्षेत्रको पूर्वाधार विकास, स्वच्छता, पहुँचयोग्य सडक तथा धार्मिक पर्यटकहरूको सुविधाका लागि विशिष्ट परियोजनाहरू सुरु गरिने छन् ।

“महागढीमाई नगर क्षेत्रलाई सांस्कृतिक पहिचान, सेवा सुविधा र जनकल्याणमा उदाहरणीय बनाउन बजेटले मार्गचित्र प्रस्तुत गरेको छ,” नगर प्रमुख यादवले नीति तथा कार्यक्रम पढ्दै भन्नुभयो ।

त्यस्तै सार्वजनिक गरीएको नीति तथा कार्यक्रममा विद्यालय स्तरोन्नति, छात्रवृत्ति कार्यक्रम, प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्रोत्साहन गर्ने योजनाहरू समावेश छन् । स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, मातृशिशु स्वास्थ्य कार्यक्रम, रोग न्यूनीकरण कार्यक्रम तथा स्थानीय स्तरमै पहुँचयुक्त स्वास्थ्य सेवा प्रणालीको विकास प्राथमिकतामा परेको छ ।

कृषिक्षेत्रलाई व्यवसायिक बनाउने लक्ष्य सहित बजेटमा सिँचाइ सुविधा विस्तार, कृषि बीमा, मलबीउ वितरण तथा कृषक सीप विकास तालिम कार्यक्रमहरूलाई समेटिएको छ ।

त्यसैगरी नगरपालिकाले सडक निर्माण, खानेपानी, ढल व्यवस्थापन र सामुदायिक भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । युवा तथा सीप विकास कार्यक्रममार्फत स्वरोजगारमा टेवा पुर्‍याउने योजना पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सोमबार सम्पन्न भएको नगरसभाको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले राख्नु भएको थियो। उहाँले नगरपालिकाको कार्यदिशा, पूर्वाधार योजना र बजेटको उद्देश्य स्पष्ट गर्दै सहभागी सबैलाई नगर विकासमा सक्रिय योगदान गर्न आह्वान गर्नुभएको छ ।

बजेट सार्वजनिक कार्यक्रममा वडाध्यक्ष, सुरक्षा निकायका प्रतिनिधिहरु, सरोकारवाला निकायका प्रतिनिधि, कर्मचारी तथा नागरिक समाजका सदस्यहरू उपस्थित रहेका थिए । कार्यक्रममा सहभागीहरूले बजेटको प्राथमिकता र वितरणप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै कार्यान्वयन पक्षमा थप पारदर्शिता र जनसहभागिताको अपेक्षा व्यक्त गरेका छन् ।

spot_img

लोकप्रिय

Related Articles